होमपेज / अर्थ

यातायात व्यवस्था कार्यालयले भन्यो : ट्याक्सीको मापदण्ड मान्दैनौं

विभागको ट्याक्सीको मापदण्ड मान्दैनौ

  बि.पि. हमाल २०७६ मंसिर ७ गते शनिबार १०:४२:३३ मा प्रकाशित

यातायात व्यवस्था विभागले बनाएको ट्याक्सीको मापदण्ड यातायात व्यवस्था कार्यालयले कार्यान्वयन नगर्ने जनाएको छ। यातायात व्यवस्था विभाग अन्तर्गत यातायात व्यवस्था कार्यालय  नपर्ने भएकोले सो मापदण्ड कार्यान्वयन नगरिने कार्यालयका सूचना अधिकारी राजन पोखरेलले बताए।

‘हामी प्रदेश मन्त्रालय मातहत काम गर्छौं’, यातायात व्यवस्था कार्यालय एकान्तकुनाका सूचना अधिकारी पोखरेलले भने,‘ मन्त्रालयले जे भन्छ त्यही गर्छौं।’

‘हिजो विभागले नयाँ मापदण्ड कार्यान्वयन गर्न भनेर चिठी काटेको रहेछ। हामीले आज प्रदेश मन्त्रालयमा पत्राचार गरेका छौं’, पोखरेलले थप भने, ‘यदि मन्त्रालयले नयाँ मापदण्ड अनुसार काम गर्ने भन्यो भने गरौंला नभए पुरानै मापदण्डको आधारमा दर्ता गछौं।’

विभागले हिजो (मंसिर ५ गते) विद्युतीय ट्याक्सीको मापदण्ड बनाएको थियो भने पेट्रोल ट्याक्सीको मापदण्डलाई अपग्रेड गरेको थियो। विगतमा ८ सय सिसीको ट्याक्सी सञ्चालनमा रहेकोमा यसलाई अपग्रेड गरेर न्यूनतम १२०० सिसी, ३ सिलिन्डरको ४ स्ट्रोक सेडान कार हुनुपर्ने मापदण्ड बनाएको थियो।

बिजुली ट्याक्सीको लागि लिथियम आयोन ब्याट्री प्रयोग गरिएको सेडान कार, न्यूनतम ४० किलोवाटको मोटर हुनुपर्ने व्यवस्था गरिएको हो। त्यस्तै, सबै ट्याक्सीहरूमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम हुनुपर्ने मापदण्डमा उल्लेख छ।

अहिले ट्याक्सी २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउने गरिन्छ। अब ट्याक्सी रिप्लेस गर्दा यो मापदण्ड अनुसार बिजुली ट्याक्सी ल्याउन पाउने विभागले जनाएको थियो। हाल उपत्यकामा करिब ९ हजार ट्याक्सी सञ्चालनमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top