होमपेज / विचार / ब्लग

एउटै पुस्ताले कुरुप बनाएको काठमाडौं

‘अलकापुरी’ थियो २५ वर्ष अघिको काठमाडौं उपत्यका

  छिटो खबर डेस्क २०७६ फाल्गुण ३० गते शुक्रबार १५:०६:५९ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका विभागीय अध्यक्ष समेत बनिसकेका सिंहकाे अनुभव र वर्णन तल प्रस्तुत गरिएको छ ।

काठमाडौं एक खुला चौर

मेरो बचपनको समयमा लगनखेल र जावलाखेल बस्तीको छेउमा रहेका विशाल चौरहरु थिए । यसभन्दा बाहिर उब्जाउ हुने मलिला फाँटहरु थिए । बस्ती भनेको काठमाडौंपटि्ट पाटनढोकासम्म नेवार बस्ती थियो भने कुपण्डोलतिर पृथ्वीनारायण शाहले भित्र्याएका अन्य जातका मानिसहरु थिए । च्यासल ढोका, पाटन ढोका जस्ता ढोकाहरु तत्कालीन बस्तीका सीमानाहरु हुन् ।

यति ठूला र जात्रामा यति धेरै मानिसहरु यी चौरहरुमा आउँथे कि एक पटक त जाउलाखेलको भोटो जात्राको दिन जात्रा हेर्न जाँदा म यहाँको रैथाने मानिस समेत हराएको थिएँ । यी ठाउँहरु विशेषगरी कृषि प्रयोजनमा चरनको लागि र धार्मिक प्रयोजन अनुसार रथ तान्नको लागि बढी प्रयोग हुने गरेका थिए ।

जावलाखेल र लगनखेलको नामबाटै पनि यसको पुष्टि हुन्छ । जस्तो जा भनेको भात, होला भनेको नेवारी भाषामा छर्नु भन्ने हुन्छ । भोटो जात्राको दिन त्यो ठाउँमा भात छर्ने भएकोले त्यसलाई जावलाख्यः भन्न थालियो । त्यसपछि यो अपभ्रंश भएर खेल भनिन थाल्यो । लगनखेलको पनि अर्थ त्यस्तै हुन्छ । लगनको अर्थ रथ गमन र ख्यः को अर्थ खाली ठाउँ भन्ने हुन्छ । यसरी लगनखेल हुन थालेको हो ।

 

पञ्चायत सुरु भएपछि सेनाले कब्जा गर्यो चौर

पञ्चायतकाल सुरु भएको केही समयपछि नै हामीहरुले फुटबल खेल्ने गरेको लगन ख्यः मा नेपाली सेनाको पल्टन आएर बस्यो । त्यो समयमा सेनाले कब्जा गरेको ठाउँलाई कसैले विरोध गर्नसक्ने हिम्मत थिएन । एक तरिकाले हेर्दा त ठाउँ जनताले प्रयोग गर्न नपाए पनि खाली राखिएको छ । सुरक्षित छ त्यो राम्रो कुरा पनि हो । तर, सेनाले आएर त्यो विशाल चौरलाई आफ्नो कब्जामा लिएसँगै लगनख्यःको संकुचन सुरु भएको हो । अझ त्यतिबेला त सुरक्षाको सवाल देखाएर काठमाडौंको टुँडिखेल ललितपुरको लगनखेल जस्ता ठाउँहरु सेनाको कब्जामा गएको थियो ।

हुन त टुँडिखेल भीमसेन थापाकै पालादेखि सेनालाई परेट खेलाउने ठाउँ थियो । तर, त्यो चौर भनेको गुरुमापा गुठीको धार्मिक प्रयोजनको लागि सुरुदेखि नै संरक्षण गरिएको ठाउँ हो । मेरो विचारमा पृथ्वीनारायण शाहले नेपालको बिस्तार गरेसँगै त्यो चौरको संरक्षण गरेको हुनसक्छ ।

लगनखेल अहिलेको पञ्चायत व्यवस्था सुरु हुने बेलासम्म अहिले सेनाको ब्यारेक भएको जति सबै, बुद्धिविकास केन्द्रले कब्जा गरेको जग्गा, जिल्ला अदालतसम्म पनि फैलिएको थियो ।

उत्तरतर्फ बग्थे खोलाहरु

भूगोलको हिसाबले हेर्दा लेले, चापागाउँदेखि नै ललितपुर दक्षिणबाट उत्तर तर्फ स्लोप डाउन भएको जिल्ला हो । त्यतिबेला लगनखेल पानीको ठूलो मुहान भएको ठाउँ थियो । यो मुहान त २५ वर्ष पहिलेसम्म पनि त्यस्तै थियो ।

यही लगनखेलको मुहानबाट इखालखु जस्ता खोला बगेको थियो । भूलपु, चलपु, न्यालपु जस्ता ५ साना साना खोलाहरु लगनखेलबाट सुरु भएर बागमतीमा गएर मिल्ने गरेको थियो । यी सबै खोलाहरु दक्षिणबाट उत्तर तर्फ बग्दै जाने खोलाहरु हुन् । इखालखु भनेको लगनखेलको पोडेटोलबाट महापालहुँदै जान्थ्यो । पालखु भनेको महापालबाट कुम्भेश्वर निस्कने गर्दथ्यो । अहिले ती खोलाहरु छैनन् । तर, ठूलो पानी आउँदा त्यही खोलाको बाटो हुँदै भल बग्ने गर्छ ।

अहिलेको प्रयाग पोखरी हुँदै लुखुशी भन्ने खोला बग्थ्यो । अहिले लगनखेलको सैनिक ब्यारेक रहेको ठाउँलाई पहिले सुवर्णपुर भन्ने गरिन्थ्यो । त्यहीँबाट सुरु हुने खोला भएकोले लुखुशी भन्ने गरिएको हो ।  सुनलाई नेवारीभाषामा लु भन्ने गरिन्छ । त्यही सुवर्णपुरबाट खोला सुरु भएकोले त्यो खोलाको नाम नै लुखुशी हुन गएको हो । यो खोलाले मान्छे नै बगाउने गथ्र्याे । त्यो त्यति ठूलो खोला अहिले अतिक्रमणमा परेर लोप भयो ।

लगनखेलमा धेरै पानीका मुहानहरु थिए । पानी धेरै भएका कारण पछिको लागि भनेर पानी सिञ्चित गर्ने चलन सुरु भयो । कुमारी पाटीमा एउटा विशाल पोखरी थियो । हिन्सेबहालका मानिसहरुले सानो पोखरी छाडेर आफूसँग लालपूर्जा छ भनेर बेचेर खाए । यो २८ सालतिरको कुरा हो ।

प्रयाग पोखरी भनेर अहिले ठाउँको नाम मात्रै हो । यो पोखरी छैन । तर, यो प्रयागबाट आएको भन्ने विश्वास गरेर गाइजात्राको समयमा त्यही पोखरीको पानीले खुट्टा भिजाउनै पर्ने चलन छ । त्यो प्रचलन अहिलेसम्म पनि चलिरहेको छ ।

त्यतिबेला त्यही मूलको पानीलाई ढुंगेधारामा लगेर त्यसैबाट भरेर खाने गरिन्थ्यो । वीर शमशेरको पालाबाट नै खानेपानीको आयोजनागत रुपमा विकास हुन थालेको इतिहास छ । त्यतिबेला हामी वागमतीमा नुहाउने र पौडी खेल्ने गथ्र्यौं । वागमती नदी तर्नको लागि जंघार खोज्दै जानु पथ्र्याे । यी सबै घटनाक्रमहरु आजभन्दा २५ वर्ष पहिलेसम्म पनि देखिएको कुराहरु हुन् । कहाँ गए होला त्यो बेलाको आनन्द ?

२०१८ सालदेखि बस्ती बसाउने चलन सुरु

२०१८ सालभन्दा पहिले बाहिरका मानिसलाई काठमाडौं छिर्न पनि म्याजिस्ट्रेटको अनुमती लिनुपथ्र्याे । त्यसैले त्यो बेलासम्म काठमाडौं एउटा खेतीगर्ने र सीमित ठाउँमा मात्रै बसोबास गरिने व्यवस्थित शहर थियो । २०१८ को त्यो व्यवस्थाले तत्कालै काठमाडौंमा बस्ती बाक्लिन थालेको होइन । यो क्रम बिस्तारै बिस्तारै चलिरहेको थियो । २०५२ सालमा माओवादीको युद्ध सुरु भएपछि गाउँ निकाला गर्ने र गरिने दुबै काठमाडौंमा आउन थाले । यो शहर त्यतिबेला पनि निकै सुरक्षित थियो । त्यसैले उनीहरु भकाभक काठमाडौंमा आएर आनामा जग्गा किनेर घर बनाउन थाले ।

त्योभन्दा पहिले त पृथ्वी नारायण शाह व्यवस्था गरेको जस्तै उब्जाउ नहुने ठाउँमा मात्रै बस्ने गरिन्थ्यो । त्यसपछि बाहिरका मानिसहरु आएर भकाभक जहाँ मनलाग्यो त्यहीँ बस्ती बस्न थाले । त्यतिबेलासम्म पनि लगनखेल शहरको बाहिरी भागमा पर्दथ्यो । त्यतिबेला लगनखेल कुम्भेश्वर जस्ता ठाउँमा पोडेजातीहरुको बसोबास धेरै थियो । पोडेजातीलाई त्यतिबेला शहर भित्र बस्न दिइने थिएन । त्यसैले उनीहरु शहर बाहिर बस्ने गर्थे । त्यसैले पोडे जातीको बस्ती बसेको ठाउँलाई गाउँको छेउ सीमा सम्भिmन सकिन्छ ।

साँच्चै अलकापुरी कान्तिपुरी

भानुभक्तले काठमाडौं उपत्यका छिरेपछि अलकापुरी कान्तिपुरी नगरी भनेर उपत्यकाको सुन्दरताको महत्व सुनाएका थिए । त्यो कुनै बनावटी होइन । हामीहरुसम्मको पुस्ताको लागि काठमाडौं शहर साँच्चिकै अलकापुरी नै थियो । तर, बस्ती धेरै भएसँगै यो कुरुप बन्न थालेको छ । आहा Û कति राम्रो थियो त्यो काठमाडौं । अब सम्भव छैन त्यो काठमाडौं देख्नलाई । मानसपटलमा रहेको यो दृष्यलाई कसैगरी पनि हटाउन सकिँदैन । हावापानी र माटोको गुणस्तरको लागि कुनै चिन्ता थिएन । कम्पोष्ट मलले हराभरा थिए बारीहरु । शिक्षा र स्वास्थ्यको यहीँ सुविधा थियो । नदीको किनारामा बस्तीहरु व्यवस्थित थिए । यी सबै सम्झिदा लाग्छ २५ वर्ष अघिसम्म भानुभक्त आएका थिए भने पनि पक्कै कान्तिपुरी नगरी अलकापुरी नै रहेछ भन्थे होला । तर, यही २५ वर्षले बिगार्यो यो सुन्दर कान्तिपुरलाई ।

माया मार्यो त्यतिबेलाको मौसमले

त्यतिबेलाको मौसम नै भिन्दै थियो । शुद्ध हावा थिए । पानीका मुहानहरु थिए । जसले गर्दा कात्तिकको पहिलो हप्तादेखि नै बख्खु ओढेर बस्नु पथ्र्याे । अहिले मंसिरको मध्यसम्म पनि जाडो हुँदैन । यो वातावरणमा आएको नकारात्मक असर हो ।

अहिले पानीका मुहानहरु सुके । चराचुरुंगीहरु लोप भए । माटोलाई चाहिने गड्यौला मासिन थाल्यो । यसरी नै माया मार्दै गयो त्यतिबेलाको मौसमले । पानीको मुहान सुकेसँगै बिस्तारै बिस्तारै यो सुख्खा शहरको रुपमा विकास हुन थाल्यो । नागखेलको पानीको मुहानले सुन्धारामा आएर धेरैको तिर्खा मेठाउने गरिएको थियो । औद्योगिक क्षेत्रको पछाडिपट्टी रहेको नागख्यःलाई बेवास्ता गरियो । त्यसैको असर अहिले सुन्धारा सुक्यो ।

त्यतिबेला घरहरु चार तलाका हुन्थ्यो । छानाहरु भिरालो शैलीका थिए । यसको फाइदा भनेको सानो सानो चोकमा पनि घामको किरण आउँथ्यो । तर, अहिले ठूला ठूला विकसित घरहरुको डिजाइन पहिलेका घरहरुको जस्तो वैज्ञानिक हुन नसक्दा घामको किरण देख्नै मुस्किल हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top