होमपेज / विचार / ब्लग

साेध्ने हक छ हामीलाइ, परिवर्तन के भयाे कमरेड ?

  छिटो खबर डेस्क २०७६ चैत्र ३ गते सोमबार २१:३१:१४ मा प्रकाशित

 चैत ३ सल्यान । 

कसले भन्छ ? क्रान्ती यहाँ सफल हुंदैन ? 
यो गीत अहिले पनि याद छ मलाई । किनकी जता पनि जुन कार्यक्रममा पनि यो गीत बज्ने गथ्र्यो, जहाँ हामीलाई जबरजस्ती लैजान्थे माओवादीहरु । के के नामका उनीहरुका कार्यक्रम जहिले पनि चलिरहन्थे उतिवेला, त्यति सबै याद छैन । जनयुद्ध दिवस, बलिदान दिवस आदि चाहीँ मुख्य रुपमा मनाउने गर्थे, र हामीलाई पनि जबरजस्ती त्यसको जुलुसमा सहभागी बनाईहाल्थे । हामी धरै नबुझ्ने, सबै साथीहरु मिलेर जुलुस र कार्यक्रमबाट भाग्ने बाटो मात्रै हामी खोज्थ्यौं जहिल्यै, जुन कार्यक्रममा पनि । 
गाउँले जीवन न प¥यो, हाम्रो स्कुले दिन विद्यालयमा र विदाका दिन गोठालो र  गोठमा अनि रात चाहीँ घट्टमा वित्ने गथ्र्यो । अहिले पनि याद गर्दा मलाई साह्रै रमाईलो लाग्छ ती दिन हरु, जो बालापनमा गुज्रिए र नरमाइलो यो लाग्छ की बालापनमै मैले धेरै चुनौती हरु व्यहोरेको छु । फागुन २ गतेकै कुरा थियो विद्यार्थीहरु सबै लाइनमा लाग्न हेडसरबाट आदेश भयो र सबै हामी विद्यार्थीहरु लाइनमा समावेश भयौं, परेड खेल्न तयार भएको आर्मी जस्तो । त्यसपछि एउटा मान्छे टिका लगाउँदै लाइन, लाइन चहार्दै थियो । मेरो पालो पनि आयो, मेरो निधारमा ठाडो टिका घसार्दियो तर मलाई त्यो टिका मन परेन र मैले तत्काल पुछिदएँ । त्यसपछि मेरो कानमा तितो आवाज गुन्जियो जो अहिले सम्म पनि मेरो ताजा सम्झना बनेर आउँछ । अहिले पनि त्यो समय सम्झाउँछ, त्यो सुन्दा किन जवाफ दिन सकिन भन्ने कुराले पिरोलिरहन्छ । कसम् अहिले पनि त्यो कुराले पिरोलिरहन्छ । सायद बाल्यकालमा आँट भए पनि जवाफ दिनलाई मसँग शब्द भण्डार कम थियो होला, मेरो साहस मेरो अभिभावक मेरो बुवा नै गाउँ छोडेपछि सायद मेरो आत्मविश्वाश कमजोर भएको थियो होला । सायद मेरो बालापनलाई रुकुमको गराइलामा मारिएका गणेश शाहको कहानीले त्रसित बनाएको हुंदो हो । अनि गोपाल शर्माको आँखामा ज्युँदै तेजाव पोखेको, जीत बहादुर वलीलाई ज्युँदै जलाएको, नेव बहादुर राणालाई खेत मैे काटेको, राजेन्द्र के.सीलाई स्कुल बाट घर जाने क्रममा विभत्स तरिकाले मारिएको, कृष्ण बहादुर चन्दलाई श्रीमती सँग बसेको अवस्थामा घरबाट लगेर काटेका यस्तै खबर रेडिेयोमा सुन्दा त्रसित बनाएको हुंदो हो, बालापन मै जीवनको भरोसा टुटाएको हुँदो हो । त्यसैले त उसको लागि मेरो कुनै जवाफ हुन सकेन । चुपचाप सुनैँ । यति सम्म पनि सोच्न सकिन कि कुनै दिन त उज्यालो होला, फेरि चार तारा चम्किएर उज्यालो होला । फेरी यो दुनियाँ प्रजातन्त्रमै समेटिएला, तास निल्न लगाउने हरु सँग जुवाकै खालमा भेट होला भन्ने मैले कहिल्यै सोचिन, रक्सी पार्ने र खाने लाई श्रम कैदको फैसला गर्नेहरु सँग भट्टीमै भेट होला भन्ने कल्यिै सोचिन । सर्वहाराको नारा लगाउने हरु सँग कुनै इसुज, ल्याण्ड क्रुजर, पजेरोहरुमा लिफ्ट माग्नु पर्ला भन्ने कहिल्यै सोचिन, प्रेमी प्रेमीकालाई भेटाउँदा कारवाही गर्ने हरु कोठे धन्दामै देखिएलान भन्ने सोचिन, तिलहरी लगाउन हुंदैन भन्नेहरु सुनकै व्यापारमा पक्राउ पर्लान भन्न्े सोचिन, मैले धेरै कुरा सोचिन त्यतिवेला ।  किनकी म बच्चा नै थिएँ, आतंक सँग त्रसित थिएँ । 
आज त अलि बुझ्न भएको छु कि जस्तो लाग्छ, अतीतका ती आत्म सन्देह हरुलाई प्रष्ट्याउन सक्छु जस्तो लाग्छ । हिजो सामन्ती भनेर अरुलाई गाली गर्नेहरु आज सामन्तवाद मै हावी भएको छौ भनेर प्रष्ट्याउन सक्छु होला । हिजो ज्यान लाई ज्यान नभन्ने, नातालाई नाता नभन्ने हरुले नाता गाँस्दा हाँस्न त सजिलै सक्छु । हिजो वर्गीय नारा उठाउनेहरु आज पुँजीपति भएको देख्दा त झन क्रान्तीकै प्रश्न तेस्र्याउन सक्छु । 
सन्दर्भ यही हो, शहीद राजेन्द्र के.सीको माइलो छोरा रोशन केसी र मेरो उमेर उस्तै होला । रोशनले लेखेका छन की अन्तीम दिन भेट भएको चैत ३ गते त्यो पनि गुरु चेलाको रुपमा । बुवा र छोराको भेट त पहिल्यै भयो होला । तर त्यो दिन पछि कहिल्यै भेट हुन सकेन । उनको शाहदतले मुलकलाई अपुरणीय क्षति त भयो नै तर उनको ज्यान लिनेले के दिन सके यो देश लाई ? उनी जस्ता पुण्य आत्माहरुको हरण हुंदा के पायो यो भुमिले ? कयौं निर्दोषहरुको ज्यान लियो त्यो माओवादले तर कहाँ लागु भयो ? कसलाई समेट्न सक्यो ? 
आलिशान महल, स्वर्गीय आनन्द र वैभवमै भुलेको त छ प्रचण्डको माओवाद, नेकपाको अध्यक्ष पदले च्यापेको छ प्रचण्डपथ । नेकपा एमाले सँग वियल नै हुन थियो भने जनताका छोराछोरी लाई किन विगार्नु ? किन मार्नु, मराउनु ? के पायो त जनता ले ? के पायो शहीदहरुको रगतले ? के उपलव्धी भयो राजेन्द्र केसीहरुलाई मारेर ? एक शहीद पुत्रले सही प्रश्न गरीरहेका छन् ।

रगत सबको उम्लिन्न्छ, कमरेड प्रचण्ड, के उपलव्धी भयो राष्ट्रलाई ? जनतालाई ? के परिवर्तन भयो समाजमा र मान्छेको जनजीवनमा ? हजारौं मान्छेहरुको रगतमा पौडेर तपाई सुरक्षा घेरामा चन्दनको खाटमा निदाउनुहुन्छ, जनताहरु करको मारमा मर्छन, तपाईहरुको सुखसयलको मारमा पिल्सिन्छन, चेतना र शिक्षा त कता हो कता तपाईको परिवार धान्ने भारमै पिसिन्छन । मात्र आज पनि जनता भोकमरी र महामारीको डरले जागा रहन्छन ।  साेध्ने हक छ हामीलाइ परिवर्तन के भयाे त कमरेड ? 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top