होमपेज / विचार / ब्लग

वर्गीय युद्ध, कसका विरुद्ध ?

  बि.पि. हमाल २०७७ कार्तिक ७ गते शुक्रबार १०:५५:४४ मा प्रकाशित

विपी हमाल, कार्तिक ७ सल्यान ।

हजार तारा अस्ताउँदा पूर्व क्षितिज रातो भयो ।
भेरी नदी सुसाउँदा मन हाम्रो तातो भयो ।

माओवादी सशस्त्र युद्धको गीतहरु मध्ये यो उत्कृष्ट गीत थियो सायद । जनता लाइ युद्धमा होम्नको लागि, उनीहरु भित्र युद्धको विजारोपण गर्न अनि वातावरण युद्धमय बनाउनको लागि । युद्धमा ताराहरु त हजारौं अस्ताए, अनि क्षितिज पनि रातो भयो तर धर्तीमा मिर्मिरे विहानी रही रह्यो । यो धर्ती पहेंलो हुन सकेन, धर्तीले घामको राप अनुभुति गर्न पाएन ।  सुर्योदय हुन नपाउँदै क्षितिजको लालीमै सिमीत भए युद्धका नाराहरु, योद्धाका सपनाहरु ।  परिवर्तनको सपना देखेकाहरु कोही अयोग्य ठहरिए, कोही अपांग भए आजीवन । कसैले सडकमा जुत्ता पालिस गर्नुपर्ने भयो, कोही जोगी भएर मन्दिर, शिवालयहरुमा बस्नु पर्ने भयो । कोही चाहीँ पश्चातापको रापमा । विरह, वेदना, पश्चाताप, निराशा । यो चाहीँ परिणामको एउटा पाटो । माफ गर्नुहोला, मैले पहिलो हरफमा नै अँध्यारो पाटो लाई उजागर गरेँ । असफल सपना, अतृप्त धर्तीको कहानी लेखेँ । दोश्रो हरफमा सके सम्म खुशी र सफलताको वर्णन गर्नेछु । 
दोश्रो हरफ 
केही व्यक्तिहरुको लागि युद्धले खुशी पनि त  दियो नि । आखिर सबैको पोल्टामा दुख र वेदनामात्रै कहाँ लेखिएको हुन्छ र ? कसैलाई यश दियो, ऐस दियो, एश्वर्य दियो । शक्ति, सत्ता, मात दियो, उन्माद दियो । महँगो महल दियो, महँगो गाडी दियो । चप्पले लाइ जुत्ता दियो, कमिज हुने लाई सफारी दियो । समय भुलाएर रोलेक्स दियो, दृढता हटाएर टाइ दियो । सर्वहाराको ट्याग दियो, जनवादको खोल दियो । वर्गको नारा लगाउनेलाइ नयाँ वर्ग उपहार दियो । 
यो लेख्दै गर्दा मैले पनि कसरी विर्सन सक्छु र ? माओवादीले युद्ध सुरु गर्ने बेलाका नारा हरु । वर्गीय वकालतका भाषण, वर्गविहीन समाजको परिकल्पना, बुर्जुवा शिक्षाको बहिष्करण आदि । उतिबेला अविकिसित मगजले यो सबै कुराको विश्लेषण गर्न नसके पनि कण्ठ चाहीँ गर्न भ्याएकै हो । 
मैले यी विषय विश्लेषण गर्नु नै परेन । कन्ठस्थ गरेमात्र पनि पुग्ने रैछ कति कुरा । विश्लेषण समयले गरिदियोे । कसैको अनुभव, निरीहता र कसैको उद्दण्ड दादागिरीले नै छर्लंग पारयो सबै कुरा । लडाकुहरु अनुभव गर्न थाले, मैले अनुभुति गरेँ । कार्यकर्ता निराश भए होलान् त्यहाँ पनि मैले अनुभुति गरेँ । अनि मैले अनुमान गरेँ ।  
गोलीका छर्रा शरीरमा बोकेर योद्धाहरु अयोग्य घोषित हुँदै गर्दा अगुवा नेताका सन्तानहरु युनिभर्सिटीहरुमा निर्वाचन लड्ने तरखर गर्दै थिए । त्यस पछि ती लडाकुहरुले बुझे होलान जनताका छोराछोरी लाइ वन्दुक बोकाएर सत्ता परिवर्तन गर्न उक्साउने हरुले आफ्ना सन्तानको लागि त शिक्षा दिक्षाको उत्कृष्ट व्यवस्था गरेका रैछन । एउटै बटालियनमा रहेर युद्ध लडेको सहयोद्धाको चिल्लो जुत्ता सडकमा सफा गर्दा त्यो अभागीलाई अनुमान भयो होला, समाजमा वर्गविहीनता हैन वर्गीय रुपान्तरण भइसकेछ । वर्गीय वकालत गर्नेहरुको वर्ग उत्थान भईसकेछ । सहयोद्धा कमरेडले मन्दिरमा आएर दक्षिणा दिँदा त्यो सन्यासीलाई लाग्यो होला, युद्ध जनताको लागि हैन सत्ताको लागि रहेछ, शक्तिको लागि रहेछ । 
तर तपाइलाई थाह छ, अहिले पनि वर्गीय पक्षधरताका कुरा आउँछन् । वर्गविहीनताका कुरा आउँछन् । तपाईको मनमा पनि लाग्दो होला, समाज वर्गविहीन हुनुपर्ने । समाजमा वर्गीय समानता हुनै पर्ने । अझै वर्गीय समानताको लागि लड्नु पर्छ । 

वर्गदुश्मन कहाँ छ ? 
अब लड्ने कसका विरुद्ध ? यो प्रश्न कम्युनिष्ट कार्यकर्ताको मगजमा छ की छैन ? हिजो लडेको रगत सेलायो कि, अझै पनि उम्लिन्छ ? म चाहीँ यिनै प्रश्नको जवाफ खोजिरहेको छु । कुनै पार्टी कम्युनिष्ट हुँदैमा त्यसका कार्यकर्ता देखि नेता सम्म सर्वहारा वर्गका हुँदैनन् अनि कुनै पार्टी प्रजातान्त्रिक हुँदैमा त्यसका कार्यकता देखि नेता सम्म सबै पुँजीपति हुँदैनन । कुनै जातमा सम्पूर्ण सर्वहारा र कुनै जातमा सम्पूर्ण पूँजीपति हुन सक्दैनन । सबै सांसदको आर्थिक हैसियत विनोद चौधरीको बराबर छैन भनेर लाल बाबु पण्डितले त्यत्तिकै भनेका होइनन । वर्ग सबै तिर छ, सबै जात भित्र वर्गीय भिन्नता छ, सबै पार्टी भित्र वर्गीय भिन्नता छ । 
वर्गीय लडाइलाई विशेष गरी नेपालका कम्युनिष्टहरुले आफ्नो एजेन्डा, मुख्य नारा भन्दै दावी गर्ने गर्दछन् । अहिले यो नारा मुखबाट मात्रै हराएको हो की, दिल दिमाग बाटै हराएको हो ? यसको जवाफ दिँदा तपाइको जिव्रो धरमराउँछ भने तपाइलाई वर्गीय युद्ध, वर्गीय पक्षधरताको कुरा गर्ने हक छैन । यदि हराएको छैन र वर्गीय समानताका लागि लड्नु पर्छ भन्ने लाग्छ भने भन्नुहोस, अब कसका विरुद्ध लड्ने ? 
हिजो तपाई जुन प्रवृत्तिको विरुद्ध नारा लगाउनु हुन्थ्यो, आज त्यही प्रवृत्ति तपाईको राजनीति भईसक्यो । जुन प्रणालीको विरुद्ध लडाइ थियो, त्यही प्रणाली नै तपाइको आधार भइसक्यो । हिजोका दिनमा जुन वर्गको विरुद्ध तपाई लड्न उक्साउनसु हुन्थ्यो, आज त्यही वर्गमा तपाईहरु पुगी सक्नु भो । तपाईको वर्ग उत्थान भईसक्यो । हिजोका तपाइका वर्ग दुश्मन अहिले समान वर्गीय मित्रको रुपमा परिणत भईसके । तर तपाईहरुको वर्ग उत्थान हुँदैमा वर्गीय समानता हुँदैन । तपाइ हरुको वर्गीय एकीकरण हँदैमा वर्ग विहीनता हुँदैन । अब भन्नुहोस कमरेड वर्गीय युद्ध कसका विरुद्ध ? 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top