होमपेज / अपराध

खानपिनमा बोलाएर टाउको खुट्टा छुट्टाछुट्टै : बोहरालाइ मार्ने महिलाको बयान

हिन्दी क्राइम सिरियलको जस्तो कथा

  छिटो खबर २०७७ श्रावण २७ गते मंगलबार १९:२२:४७ मा प्रकाशित

२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो ।

मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो ।

जब मृतकको पहिचान भयो, चितवनबाट कल्पना मुडवरी पौडेल पक्राउ परिन् । प्रहरीले उनको विवरण तत्काल सार्वजनिक गरेन, किनकी हत्यामा अरु पनि संलग्न हुनसक्छन् र पौडेलबाट सूचना लिएर उनलाई पक्राउ गर्न सकियोस् भन्ने प्रहरीको अपेक्षा थियो ।

तर पौडेलसँगै उनका छोराछोरीको बयान, घटना भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड (सीडीआर) लगायत सबैले घटनामा उनको मात्र संलग्नता देखिएको छ ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी  भन्छन्, ‘यो अपराधको कथा भारतीय सिरियल क्राइम पट्रोल, डायल १०० हरुमा देखाइने घटना जस्तै छ ।’

उनीसँगै १५ वर्षीया छोरी पनि पक्राउ परेकी छन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । एसएसपी ज्ञवालीका अनुसार उनले शव व्यवस्थापनमा आमालाई सघाएकी छन् । सँगै रहेको छोरा उनीभन्दा कम उमेरका छन् भने घटनाबारे कुनै जानकारी छैन ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाकाअनुसार ज्यान गुमाउने बोहरा गत मंसिर महिनादेखि मित्रनगरस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए ।

होटलका सञ्चालक दीपेन्द्र छत्कुलीका अनुसार बोहरा शनिबार अपरान्ह त्यहाँबाट निस्किएका थिए । ‘बल्ल एक जना मान्छे भेटेको छु, एक/दुई दिन नआउन पनि सक्छु भन्दै निस्किनु भएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘मोबाइल स्वीच अफ पनि हुनसक्छ भनेकाले मैले पनि फोन गरेको थिइन ।’

मृतकको तस्वीर सार्वजनिक गरिएपछि उनैले प्रहरीलाई फोन गरेर बोहरा आफ्नो होटलमा बस्ने गरेको बताएका थिए । कोठामा खनतलासी लिँदा नागरिकता लगायतका कागजात बरामद भएकाले मृतकको सनाखत भएको थियो ।

प्रहरी स्रोतका अनुसार होटलबाट निस्किएका उनी गोंगबुको नवज्योति मार्गस्थित पौडेलको कोठामा साँझ ५ बजेतिर पुगेका थिए । क्लोज सर्किट (सीसी) क्यामरामा उनी पौडेलको कोठा भएको घरमा छिरेको समय र दृश्य कैद भएको छ ।

एसएसपी थापाका अनुसार उनलाई पौडेलले खानपिनका लागि भनेर बोलाएकी थिइन् । पौडेलले तीन वटा कोठा भाडा लिएर बसेकी थिइन्, जसमध्ये एउटा कोठामा बोहरा र पौडेल थिए भने अर्कोतिर छोरी र छोरा टिभी हेरेर बसेका थिए ।

शनिबार दुबैले भोड्का रक्सी, दही, च्यूरा लगायत खाए । खानपिनका क्रमा बोहरालाई दिएको दहीमा भने पौडेलले ५ वटा स्लीपिङ ट्याब्लेट हालिदिएकी थिइन् । पौडेल आफैं डिप्रेसनको रोगी भएकाले दैनिक एउटा ट्याब्लेट खाएर सुत्ने गरेकी थिइन् । त्यही उनले बोहरालाई दहीमा मिसाएर दिइन ।

 जब बोहरा लठ्ठिएर लडे, पौडेलले अण्डकोषमा हम्मरले प्रहार गरिन् । त्यसपछि आफ्नो सलले घाँटी थिचेर हत्या गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । बोहराको मृत्यु भएको यकीन भएपछि पौडेल शव व्यवस्थापनतिर लागिन् । शवलाई शौचालयमा लगेर दाउले टाउको र दुवै खुट्टा पनि काटेको उनले बयान दिएकी छन् ।  प्रहरीका अनुसार पौडेलले टाउको र खुट्टाविनाको शव सुटकेसमा राखेर राति ११ बजेतिर घरबाट करिब ५० मिटर अगाडि सडकको बायाँ किनारमा फ्यालिन् । बोहराको टाउको र खुट्टा भएको जेब्रा झोला फाल्न लैजाने क्रममा पानी पर्‍यो । त्यसबेला भने उनले छोरीको सहयोग लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

घटनाबारे जानकारी पाएर पनि प्रहरीलाई खबर नगरेको अभियोग छोरीमाथि छ । अनुसन्धान अधिकृतका अनुसार आमाछोरी घरबाट निस्किँदा राति १ बजिसकेको थियो । झोला फालेर फर्किएका उनीहरु कोठामा सुतेको पाइएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार आइतबार बिहान ७ बजे प्रहरीले शव बरामद गरेको पौडेलले थाहा पाइसकेकी थिइन् ।

घरवेटीलाई शुक्रबारै माइत जाने भनेर खबर गरेकी थिइन्, चितवनबाट आउँदा प्रयोग गरेको एम्बुलेन्सलाई पनि बोलाइसकेकी थिइन् । प्रहरी स्रोतका अनुसार एम्बुलेन्स विरामी लिएर काठमाडौं आएको थियो । उनी र छोरी त्यसैमा छढेर चितवन गएकी थिइन् । एम्बुलेन्स चालकलाई पक्राउ गरेर सोधपुछ गरेपनि उनको संलग्नता नदेखिएपछि कागज गराएर छोडिएको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top