होमपेज / स्वास्थ्य

हामी खान नपाएर होइन, खान नजानेर रोगी

  छिटो खबर २०७६ फाल्गुण ३० गते शुक्रबार १३:४७:१२ मा प्रकाशित

हामी भोक लागेपछि पेट चर्कने गरी खान्छौं । मिठो-मसिनो पाएपछि भरपेट खाइदिन्छौं । काम वा अन्य व्यस्ततामा भने भोको पेट पनि बस्तौं, घण्टौंसम्म । खाना शरीरको अनिवार्य र नियमित आवश्यक्ता हो भन्ने कुरा हामीलाई हेक्का छैन ।

खानुपर्छ भन्ने त बुझेका छौं, तर कसरी खाने, कतिबेला खाने, के खाने, कति खाने भन्ने कुरामा हामी बेवास्ता गर्छौं । यस्तो कुरा जान्नुपर्छ भन्ने हामीलाई लाग्दैन ।

 

शरीर सञ्चालन एवं निर्माणका लागि विभिन्न पोषक तत्व आवश्यक पर्छ । यसरी आवश्यक पर्ने पोषकतत्वको स्रोत खानेकुरा नै हो, जो हामीले खान्छौं । यस्ता पोषक तत्व सन्तुलित रुपमा शरीरले ग्रहण गर्छ । एकसाथ कुनैपनि पोषकतत्व अधिक भएमा त्यसले हानी गर्छ ।

अतः एकै किसिमको खानेकुराबाट शरीरलाई आवश्यक सबै किसिमको पोषक तत्व पूर्ति हुँदैन । भिन्न भिन्नै खानेकुरामा भिन्न-भिन्नै पोषक तत्व हुन्छ । त्यसैले हामीले शरीरलाई आवश्यक सबै किसिमका पोषक तत्व आपूर्ति गराउनका लागि फरक-फरक खानेकुरा सेवन गर्नुपर्छ ।

तर, हामीलाई सामान्य हेक्का के छैन भने, कुन खानेकुरामा कस्ता पोषक तत्व पाइन्छ ?

जस्तो चामल कार्बोहाइड्रेटको स्रोत हो, कागती भिटामिन सिको स्रोत हो, मासु प्रोटिनको स्रोत हो । यस्ता कुरामा हामी त्यती हेक्का राख्दैनौ । कुन खानेकुराबाट के पोषक तत्व पाइन्छ र त्यसलाई कति मात्रामा लिने भन्ने कुरामा त हामी सोच्दा पनि सोच्दैनौ ।

किनभने हामीमध्ये धेरैजसा पेट भर्नका लागि खान्छौं । पेट भरेपछि पुग्छ । दुई छाक जुटाउनै मुश्किल भइरहेको हाम्रो समाजमा पोषक तत्वबारे मिहिन कुरा गर्नु पनि त्यती अर्थपूर्ण हुँदैन । त्यसो भए के गर्ने त ?

यसको सरल जवाफ हो, हाम्रा पिता-पूर्खाले खादै आएका र खान सिकाएका कुरालाई पालना गर्ने ।

हाम्रो आफ्नै खाने संस्कार एवं शैली छ । हाम्रा पूर्खाहरुले विहान-बेलुकी भात खाए । भात अर्थात चामल, तरकारी, दाल, अचार ।

चामल सदावहार खाना भयो । तरकारी मौसम अनुकुल । दाल र अचार पनि मौसमी नै । बेलामौकामा कांक्रा, मुला, गाजर, कागती पनि आफ्नो छाकमा समावेश गर्‍यौं । यस किसिमको खानपान नै हाम्रो मूख्य खाना भयो ।

हाम्रो खानामा मौसमी आलु हुन्छ, सागसब्जी हुन्छ, सिमी हुन्छ, फर्सी हुन्छ, इस्कुस हुन्छ, करेला हुन्छ, काउली हुन्छ । मौसम अनुसार फल्ने एवं उत्पादन हुने यी सागसब्जीमा आ-आफ्नै किसिमको पोषक तत्व पाइन्छ । घतलाग्दो चाहि के भने, प्रकृतिले यी सागसब्जी, अन्न त्यहीबेला उत्पादन गर्छ, जतिबेला हाम्रो शरीरलाई यसबाट प्राप्त हुने पोषक तत्वको खाँचो हुन्छ ।

हाम्रा पिता पूर्खाले यसरी प्रकृति अनुसार खानपानको पहिचान गरे । छनौट गरे । त्यसलाई खाने तालिका मिलाए ।

तर, अहिले हामीलाई यस्तो परम्परागत खानपानमा चित्त बुझेन । हामी विश्वभरको मेनु हेरेर आफ्नो भान्सामा थरीथरीका परिकार बनाउन थाल्यौं । भान्सा छाडेर रेष्टुरेन्ट चाहर्न थाल्यौं । फास्टफुडमा जिब्रोलाई लोभ्यायौं । प्याकेटबन्द खानेकुरामा अभ्यस्त भयौं ।

यसरी हामी आफ्ना परम्परागत खानेकुरा छाडेर अनियन्त्रित रुपमा खानेकुरा खोज्न थाल्यौं । भलै स्वादका लागि चाख्नका लागि जुनसुकै खानेकुरा खान सकिएला । तर, आफ्नो मूख्य भोजन कटौती गरेर जसरी हामी बजारको खानाले पेट भर्न थाल्यौं, हाम्रो शरीरमा पोषक तत्वको असन्तुलन हुन पुग्यो ।

यहि कारण त अहिले धेरैलाई मोटोपनको समस्या छ । मधुमेह, उच्च रक्तचाप जस्ता खानपानकै कारण हुने रोगको समस्या छ ।

हाम्रा पिता पूर्खाको खानपान शैली कस्तो थियो ?

उनीहरु मौसमी खानेकुरा खान्थे । चिल्लो-चाप्लो, मसेलदार खानेकुरा खाँदैनथे । बेलाबखत उपवास बस्थे वा छाक छाड्थे ।

खाना खाइरहँदा चुपचाप बस्नुपर्छ वा बोल्नु हुँदैन भन्थे । खानामै ध्यान लगाएर स्वाद लिएर खानुपर्छ भन्थे । भुँइमा बसेर, पलेँटी कसेर, आरमसाथ खान्थे । खाना जथाभावी छाड्दैनथे । अनावश्यक खाँदैनथे । ठिक समयमा खाना खान्थे । ठिक समयमा सुत्थे । विहान चाडै उठ्थे । दिनभर सक्रिय रहन्थे ।

खानपानको यही शैलीले उनीहरुलाई लामो समयसम्म निरोगी बनाउन मद्दत गर्‍यो । उनीहरु बलियो भए । कलिलै उमेरमा रोगले सताएन ।

तर, आज हामी फास्टफुडमा रमाएका छौं । झटपट तयार हुने, जिब्रोलाई लोभ्याउने खानेकुरा माग्छौं । हतारमै खान्छौं । यस किसिमको खानपान शैलीले हामीलाई पेटको रोगी बनाएको छ ।

उमेर नपुग्दै हामी विभिन्न रोगको चपेटामा पर्दैछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top