होमपेज / स्वास्थ्य

क्वारेन्टाईनबाट ५९ जना घर फर्किए : क्रमश अरुलाइ पनि पठाईदै 

  छिटो खबर २०७७ बैशाख १७ गते बुधबार १९:४४:०० मा प्रकाशित

वैसाख १७, सल्यान ।    
छत्रेश्वरी गाउँपालिकाले क्वारेन्टाइनमा बसेका हरु मध्ये ५९ जनालाई विदा गरेको छ । गाउँपालिकाको भोटेचौर केन्द्रमा बस्दै आएका ५९ जनालाई बुधबार विदा गरिएको हो । 
उनीहरुको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ आएको र उनीहरुले क्वारेन्टाईन अवधी पुरा गरेकोले विदा गरी आ आफ्नो घर पठाईएको गाउँपालिकाले बताएको छ ।

विभिन्न कामको शिलशिलामा जिल्ला बाहिर रहेकाहरुलाई गाउँपालिकाले विभिन्न स्थानहरुबाट ल्याई क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकाको ७ वटा केन्द्रहरुमा जम्मा २७५ जना क्वारेन्टाईनमा रहेका छन् । भोटेचौर केन्द्रमा मात्रै १०५ जना रहेको बताईएको छ । जम्मा १०५ जना मध्ये आज ५९ जनालाई घर पठाईएको र क्रमशः अन्यलाई पनि परीक्षण पश्चात घर पठाईने गाउँपालिकाका अध्यक्ष सन्तोष के.सी. ले बताएका छन् । गाउँपालिकाका अन्य केन्द्रहरुमा समेत अवधी पुरा गरेकाहरुको स्वास्थ्य परीक्षण गरी घर पठाईने भएको हुंदा धैर्यता पूर्वक बस्न अध्यक्ष के.सी.ले आग्रह गरेका छन् । अध्यक्ष के.सी.ले गाउँपालिका सँग कुशल समन्वयमा रहँदै धैर्यता पूर्वक क्वारेन्टाइनमा बस्ने सबैलाई धन्यवाद दिएका छन्  । गाउँपालिकाका अनुसार भोली विहिबार ४६ जना लाई घर पठाईने बुझिएको छ । 


यसै बीच मंगलबार जिल्ला स्तरीय एक टोलीले छत्रेश्वरीका क्वारेन्टाईन केन्द्रमा अवलोकन गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलको नेतृत्वमा रहेको टोलीले गाउँपालिकामा क्वारेन्टाईनको अवस्था र त्यहाँ बसेका सर्वसाधारणहरुको स्वास्थ्य स्थिति बारेमा अध्ययन गरेको थियो । अवलोकन टोलीमा प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडा, नेपाली सेनाका सिमखर्क ब्यारेकका गणपति, अनुसन्धान अधिकृत लगायत रहेका थिए । यसै गरी अवलोकन अवधीमा गाउँपालिका अध्यक्ष सन्तोष के.सी, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का लगायतका स्वास्थ्यकर्मीहरु सहभागी रहेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top