होमपेज / जिवनशैली

आइसोलेसनको सम्झना –एक नयाँ अनुभव 

  बि.पि. हमाल २०७७ आश्विन २३ गते शुक्रबार २०:३७:५४ मा प्रकाशित

-विपी हमाल ।
           अहिले सम्झँदा सपना जस्तो लागे पनि त्यो बसाई कुनै सपना थिएन  । तारबार र पर्खाल भित्र घेरिएको त्यो सानो संसारमा दिन विताउनु वास्तवमै कठिन थियो । जिन्दगीमा गरिएका अनेक अनुभवहरु मध्ये सारै कठिन अनुभव थियो आइसोलेसनमा रहँदा मेरो लागि । कुनै कैदी जीवन जस्तै । पर्खाल र मसिनो बारको बीचमा रहेको घर नै हाम्रो भुगोल  थियो । छत, कोठा, ट्वाइलेट अनि खाना लिने पर्खाल यति नै हाम्रो संसार थियो । पर्खाल र बार धेरै बलिया नभएपनि हामीलाई छेकीरहेका थिए । हात्तीलाइ एउटा डोरीले बाँधेर राखे जस्तो, सानो फुच्चेले खुंखार गोरु डोरीले डो¥याए जस्तो । 
यो बन्धनले मलाई एउटा कुरा सिकाएको छ, बाँधिने लाई नै म बाँधिनु पर्छ भन्ने महसुुस भएमा सानो परालको त्यान्द्रो पनि बलियो बन्धन हुन्छ । मेरो संसारको सीमाना यति मात्रै हो, म यही भुगोलमा सिमीत हुनपर्छ  भनेर स्वीकार गरेमा कुनै साम्राज्यवाद तथा विस्तारवाद को जन्म हुँदैन । नत्र हाम्रो मनमा पनि त्यो पर्खाल नाघ्ने सोच नआएको होइन । लगाईएको बारलाई छिमेकीले जस्तो अलि अलि गरेर सार्न नसकिने पनि थिएन । तर हामी संयमित थियौं छिमेक, समाज, गाउँ र आफ्नो लागि समेत । हामी सम्हालिएर बस्यौं, खुम्च्याएर बस्यौं खुट्टा । तन्काउन सके सम्म आँखा मात्रै तन्कायौं । आँखाको कुनै सीमाना थिएन । नजरमा कुनै बन्देज थिएन । फाँटमा झुलेको धान, खेतमा खिइरहेका औंला, खोलामा वितिरहेका बालापन, छाक टार्न पोल्टोमा आएका माछाहरु यी सबै हेरेर आत्म सन्तोष गराउन सक्थ्यौं । छतमा निस्किँदा आँखै अगाडी देखिने बडेमानका डाडाहरु नै हाम्रो क्षितिज बनेका थिए । घर वरपर आउने चराहरु हाम्रा पाहुना ।  रमिला नानी मेरो सम्झनामा बारम्बार आइरहीन । हरेक क्षण, हरेक दिन, हरेक प्रहर रमिलानानीको सम्झना आइहाल्थ्यो । भुवन हरि सिग्देलको रमीला नानी, उनको जीवनको केही अंश पनि अनुभव गरे मैले । जब डाँडाहरु गोधुलीमा पोतिन थाल्थे पागलबस्ती पनि सम्झिएँ मैले, जहाँ सरुभक्त पोतिएका हुन्थे । 
              असोज १३ गते विहानै आज रिपोर्ट आउँछ भन्ने खबर आइसकेको थियो । पिसीआर टेस्ट गराएको पनि पाचौं दिन । कस्तो नतिजा आउला भन्ने कौतुहलतामा मेरो दिन ढलिरहेको थियो । नतिजाको कल्पनाले आशा पनि सृजना गर्दथ्यो र साथमा डर पनि मिसाएर ल्याइरहेको थियो । मलाई कुनै पनि लक्षण देखिएको थिएन, तै पनि किन किन लाग्थ्यो, पोजिटिभ आउँछ कि ? आयो भने के गर्ने, कहाँ बस्ने यो पनि सोचिसकेको थिएँ । केही दिन अघिमात्रै लुहापिङमा रहेको आइसोलेसनको बारेमा नराम्रो खबर आएको थियो । त्यसैले सोचेँ त्यहाँ त बस्दिन, आइसोलेसन बस्ने भनेको सुधारको लागि पो हो त, झन विरामी भइयो भने के अर्थ । त्यसकारण यदि रिपोर्ट पोजिटिभ आयो भने म छत्रेश्वरीको आइसोलेसनमा नै जान्छु भन्ने निर्णय गरिसकेको थिएँ । दिनभर मैले अफिसको स्वास्थ्य शाखा र म सँग पिसिआर गराएका हरु सँग सम्पर्क पनि गरिरहेको थिएँ । मसँग पिसिआर गराउने एक जना भाई पनि थिए विराज डांगी । मैले उनलाई रिपोर्ट पोजिटिभ आयो, के गर्ने भनेर जिस्काउन पनि भ्याएको थिएँ ।

रिपाेर्ट आएकाे दिन               

          बेलुकी साढे तीन बजे ठट्टा सत्यमा बदलियो । रिपोर्ट पोजिटिभ देखियो भनेर फोन आए पछि म आत्तिएँ । घरमा सबै जना थिए । उनीहरुको अगाडी मेरो अनुहारमा कतै पनि हड्बडाहट नदेखियोस् भनेर मैले आफुलाई सामान्य देखाउने हर प्रयास गरिरहेको थिएँ । तर मनमा अनेक कुराहरु आइरहेका थिए ।  कोरोना भनेको अरुलाई भएको सुन्दा गफ हुन्छ र आफुलाई पर्दा रोग हुन्छ भनेको साँच्चै लाग्यो । मैले घरमा साना ठुला सबैलाई केही हुँदैन, मलाई केही भएकै छैन । रिपोर्ट मात्र त्यस्तो आएको भनेर सम्झाएँ । मलाइ लाग्छ म मेरो भित्री तनाव लुकाउन र उनीहरुलाई सम्झाउन सफल भएँ । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष के.सी दाइ र स्वास्थ्य शाखाका गणेश डांगी सँगको सल्लाह पश्चात म भोटेचौर नै जाने निश्चित भयो र साथमा भाई विराज पनि । 
तनाव जति भए पनि म फोनमा वा प्रत्यक्ष कसैलाई पनि त्यो तनाव देखाउन चाहन्नथेँ । उसो त मेरो स्वभाव पनि यस्तै नै छ । सन्तोष दाइ पनि मान्छेको मुड अनुसार कस्तो कुरा गर्ने भन्ने कुरामा अब्बल नै हुनुहुन्छ । मैले यो कुरा धेरै पटक देखेको छु । यो गुण सबै सँग हुँदैन । उहाँले पनि मलाई फोन गरेर सुरुमा जिस्काउनु भयो, “भाइ एक लाख पाउने भयौ नि, तिमी त लक्की” म अप सेट थिएँ तैपनि उहाँको हाँसोमा मैले पनि हाँसो मिलाइदिएँ । अब वातावरण सामान्य लागेर होला, दाइले थप कुरा गर्नुभयो, सीधा भनौ भने म भाटेचौर नै बस्ने निश्चित भयो । 
खलंगाबाट भोटेचौरको बाटो कसरी कट्यो, कतिबेला कट्यो थाह भएन । फर्किँदा विराजले भन्दै थिए, ओरालोमा पनि बाइकको एक्सिलेरेटर थिचेकै थिएँ रे । श्रीनगरमा भाइ सौरभ हमाल सँग केही सामान रिसिभ गरपछि बाइक भोटेचौर आइसोलेसनको गेटमा रोकियो । हामीलाई पर्खेर बसेको स्वास्थ्य शाखा उपपप्रमुख गणेश सर, मित्र दिलिप लगायतको टिम त्यहीँ थियो । हामी भित्र पस्यौं, आइसोलेसनमा । कोठा राम्रै थियो, बेडहरु मिलाइएका, बेड माथि झुल टाँगिएको । हामी झ्याल नजिकको बेडतिर बस्ने निधो ग¥यौं । आफु सँग लिएका सामानहरु राखियो, बेड चेक गरियो अनि नपुगेको सामानहरु मागेर हामी छतमा उक्लियौं । साँझ परिसकेको थियो, चारै तिर बत्ती बलेका, बाटो घाटो सुनसान । नजिकैको क्वारेन्टाइनमा मान्छेहरु बोलेको आवाज मात्र थियो । दुवै जना अपसेट थियौं । मन साह्रै आत्तियो । विराजको कुरा थाह भएन तर म चाहीँ के झन्झटमा फस्नु प¥यो, जीवनमा कस्ता कस्ता क्षणहरु भोग्नु पर्ने रहेछ भनेर भित्र भित्रै छटपट्टिरहेको थिएँ । भोग्नु पनि त जनयुद्ध, आन्दोलन, भुकम्प, अभाव, सम्मान, अपमान सबै भोग्दै आइएको छ । सायद विराजको पनि हाल उस्तै हुँदो हो, तर कुरा गर्ने मुडमा म थिइन । 
         केशरी दिदि र दिपक भाइ पनि आए पछि कोठामा पस्यौँ । हामीलाई फोन र म्यासेजले फुर्सदनै थिएन । तीन दिन सम्म त फोन, म्यासेज, फेसबुकका म्यासेज हेर्न र रिप्लाइ गर्न नै हैरान थियो । यो लेख्दै गर्दा म आभारी छु सबै जना प्रति, जसले विभिन्न माध्यमबाट शुभकामना, प्रोत्साहन, शुभेच्छा, चिन्ता चासो र माया प्रकट गर्नुभयो । एक्लो र कमजोर महसुस हुन दिनु भएन । सबै सबैलाई फेरि पनि हार्दिक धन्यवाद । 

आइसाेलेसनकाे तनाव 
          दोश्रो दिन देखि हामी आफुलाई वातावरण अनुकुल बनाउने प्रयासमा लाग्यौं । आत्मविश्वाश र स्वास्थ्य सबल बनाउँन लाग्यौं । अझ भनौं सानो संसारमा हामी आफुले आफुलाई बन्दी बनाउन सुरु ग¥यौं । विहान कुनै कुनै दिन योगा पनि गरिन्थ्यो, कहिले चाहीँ ७ बजे उठिन्थ्यो । पर्खाल बाहिरबाट यज्ञजीको आवाज सुनेपछि दुध अण्डा आयो भन्ने थाह हुन्थ्यो अनि केही बेर पछिको त्यही आवाजले खाना आयो भन्ने संकेत हामी भित्रैबाट बुझीहाल्थ्यौं । यसै गरी हाम्रो दिउँसाको खाजा र साँझको खाना पनि यही आवाज आए पश्चात लिन जान्थ्यौं । त्यसपछिका दिनमा हामीलाई दिन विताउन खासै गाह्रो भएन । गीत गाउने, नाच्ने, टट्टा गर्ने गर्दा गर्दै हाम्रो दिन वितिहाल्थ्यो । तरपनि याद र तनाव त सँगसँगै पौठेजोरी खेल्दै आइहाल्थे । तर पनि हामी कसैलाई त्यो देखाउँदैनथ्यौंं । 

त्यति बेला लेखिएको तर पुरा नभएको एक कविता :

भित्रै छु छट्पटी जति भएपनि सीमामा घेरिएर 
सन्चै छु पिर क्यै नगर्नु अहिले मनमा डर लिएर 

संघर्ष ठुलो के भयो र यो यस्तो त धेरै जितियो क्षण
पर्खिरहेको छु आजाद किरण बाधेर बस यो मन 
रुक्दैन घडी यो चुनौती दिनलाई एउटा लाइ हराएर
आउनेछु जितेरै चुनौती नरुनु मनमा डर लिएर 

सम्झेकै छु रमाइलो हाँसो मीठो हावा पिपल मुनी 
सम्झेकै छु प्रिय कोपिला काखका र आँखाका ती नानी 
छिट्टै आउनेछु सामिप्यमा रमाउन केही क्षण बस पर्खेर 
आउनेछु जितेरै चुनौती नरुनु मनमा डर लिएर 

           एकले अर्कोलाई हेर्दा तनावको रेखा नै दखिँदैन थ्यो तर मनमा त कति थियो कति ? कहिले काहीँ एक्ले बस्नु परेको भए के हुन्थ्यो होला भनेर कुरा हन्थ्यो । त्यसमा हाम्रो सर्वसम्मत बुझाई एउटै छ – “होम आइसोलेसन भन्दा सामुहिक आइसोलेसन नै उत्तम । एक्लो हुँदा झन् तन खाने भन्दा मन खाने समस्याले मान्छेलाई रोगी बनाउँछ । मनोवैज्ञानिक रुपमा पनि एक्लै बस्दा मान्छे विरामी भइहाल्छ ।” 
त्यसपछि हामीले फेसबुकमा भिडियो पनि अपलोड गर्न थाल्यौं । यसको दुर्ईटा अर्थ थियो । एउटा त हाम्रो तनाव कम हुने र समय वित्ने अर्को चाहीँ हाम्रो स्वास्थ्य राम्रो छ भन्ने सन्देश जाने । यो तरिका सुरु गरेपछि हामी दुवै उद्देश्यमा सफल भएका थियौं । 

समाचारले दिएकाे तनाव

एकदिन विराजले एउटा समाचार सेयर गरे हामी सँग, २५ वर्षे एक यूवती कुनै लक्षण नदेखिएको तर १६ आँैं दिनमा विरामी भएर भोलिपल्ट निधन भन्ने समाचार थियो । यसले हामीलाई तनाव दियो । हामीलाई पनि कुनै लक्षण थिएन, तर कतै त्यस्तै भएमा ? सबै जना लाई यसले तनाव ग्रस्त बनाएपछि हामीले सामूहिक निर्णय ग¥यौं, कोरोनाको हेडलाइन भएको कुनै समाचार नै नपढ्ने । त्यो दिन देखि कसैले कोरोनाको समाचार पनि पढेन । 
             खाने र पिउने धेरै हुन्थ्यो । हलेदो, टिम्मुर, कागती, गुर्जो, अदुवा, बोजो लगायतका जडीबुटीहरु हामी सँग टन्नै थियो । कुमार बुढाथोकी, हिमेन्द्र बाबु सेजवाल, प्रकाश हमाल, रमेश वली लगायतबाट हामीलाई ती चीजहरु उपलब्ध भएका थिए । आयुर्वेदिक औषधी, चिया पनि हामी सँग धेरै थियो । खाना मीठो र राम्रो, सन्तुलित आउने गथ्र्यौ । एक दिन अण्डाको साथमा र एक दिन मासुको साथमा खाना आउँथ्यो । खाना र खाजामा नियमितता नै थियो । तरपनि घरको जस्तो मजा र स्वादिलो नलाग्ने । त्यसैले मैले घरबाट आँप र खुर्सानीको अचार मगाएको थिएँ । माथिल्लो तलामा बस्ने हामी पाँच जनाले खाना सधै सँगै बसेर खाने गरेका थियौं (आवश्यक दुरी बनाएर ) । सबैका घरबाट केही केही खानेकुरा आइहाल्थे । अनि त्यो खाँदा हामीलाई घरमै बसेर खाएको अनुभति हुन्थ्यो । मीठो पनि लाग्थ्यो । मनमनै एक अर्कोको घर परिवार प्रति धन्य हुँदै खाना खान्थ्यौं । केशरी दिदि चाहीँ त्यो अचार खाँदा प्राय ः मेरो परिवारलाई मुखै खोलेर धन्यवाद दिनुहुन्थ्यो । 
             अफिसका स्टाफहरु नजिकै बस्ने भएकोले उनीहरु पनि भेट्न आइहाल्थे । टाढैबाट कुरा गरे पनि हामीलाई रमाइलो लाग्थ्यो । माछा, मासु पनि लिएर आउँथे उनीहरु आफैले पकाएर । विशेष गरी सीता दिदि, रमेश भाइ, गणेश भाइ, नवीन राजा, जानकी, टिका, लाल बहादुर अंकल लगायतलाई विशेष सम्झना छ । हाम्रा दिनहरु सहज र रमाइला हुँदै गए । हामी भित्र तनाव पनि हराइसकेको थियो । मनमा यस्तो आत्मविश्वाश पैदा भईसकेको थियो की यस्तो पाजी कोरोनाले हामीलाई केही विगार्दैन । यो त के हो र ? यस्तो सोच्ने भइसकेको थियौं । मानौं की हामीले कोरोनालाई परास्त नै गरी सकेको थियौं ।  तर जब दोश्रो पटक स्वाब संकलन गरियो, त्यसपछि फेरि त्रासको त्यान्द्रो पलायो । मान्छे नै हो आखिर जति साहसी भए पनि । परिवर्तन र नतिजा सँग जहिले पनि डराइ नै हाल्छ । हामीलाई पनि अब रिपोर्ट कस्तो आउछ भन्ने पीर लाग्न थाल्यो तर पनि त्यो पीरलाइ हामीले आफुमाथि हावी हुन दिएनौं । दिनहरु त्यसरी नै वितिरहेका थिए । 

निचाेड र सिकाइ 
            असोज २१ गते म सुतिरहेको थिएँ । केशरी दिदि नजिकै आएर कानमा बोल्नु भो, भाइ रिपोर्ट नेगेटिभ आयो । त्यस पछि थप थाह भयो १५ जनाको रिपोर्ट आएको रैछ । आइसोलेसनमा हामी जम्मा १५ जना थियौं । १५ मध्ये ११ जनाको नेगेटिभ र ४ जनाको फेरि पनि पोजिटिभ आएछ । नेगेटिभ रिपोर्ट आएका हरु निस्किने तयारी गर्न थाल्यौं, पोजिटिभ आउनेहरु अलि निराश थिए । हामीले उनहरुलाई सान्त्वना दिने हर प्रयास ग¥यौं । आशा छ उनीहरुको तनाव थोरै भए पनि कम भयो होला । 
कोरोना संक्रमण भएर पनि यसलाई जितेर हामी नयाँ अनुभव सहित फर्किन सक्यौं । आफ्नो आत्मविश्वाश, सरसफाइ र खानपान नै यो सँग लड्ने मुख्य उपाय हो भन्ने मेरो सिकाइ रहेको छ । भेट हुने, फोन सम्पर्क हुने सबैलाई मेरो यही अनुभव सुनाइरहेको छु । व्यायाम गरौँ, खानपान, सरसफाइ मा विशेष ख्याल गरौं, आत्मविश्वाश दरिलो बनाई राखौं । कोरोना केही होइन भन्नेको पछि पनि नलागौं र कोरोनाले मारिहाल्छ भन्नेको पछि पनि नलागौं । कोरोना “केही त पक्कै हो तर सम्पूर्ण रुपमा संहारक चाहीँ होइन ।”  
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top