होमपेज / जिवनशैली

पञ्चायतकालीन सेना सँग भीडन्त गरेका प्रजातान्त्रिक सल्यानी याेद्धा : जिवीत इतिहास

  बि.पि. हमाल २०७७ माघ १४ गते बुधबार १८:५३:१६ मा प्रकाशित

माघ १४ सल्यान ।

आज हामी स्वतन्त्रता पूर्वक जीवन बाँच्न पाएका छौं । हामी बोल्न पाएका छौं । नेता चुन्न पाएका छौं, चुनिन पाएका छौं । आलोचना एवम् समर्थन गर्न पाएका छौं । यसको लागि प्रजातान्त्रिक योद्धाहरुलाई सम्मान गर्नै पर्छ । उहाँहरुको त्याग, संघर्ष, बलिदानबाट देशमा प्रजातन्त्रको स्थापना भएको हो । ती महान शहीद र योद्धाहरु प्रति हामी ऋणी छौं । 
बहुदलीय व्यवस्था, प्रजातन्त्र र समाजवादको पक्षमा आफ्नो जीवन समर्पण गरेर लड्ने एक सम्माननीय योद्धा, एक जिवीत इतिहास सँग हामीले गरेको वार्तालाप उहाँको सम्मानमा समर्पित : 
गणपति सारुका काइला सुपुत्र कुल बहादुर सारु । उहाँ अहिले कालिमाटी गाउँपालिकाको ढोरेनी गाउँमा बस्नुहुन्छ । आँखामा पावरवाला चस्मा, उमेरले धर्कै धर्का कोरिएको अनुहार, अग्लो ज्यान, दाँत झरेपछि अलि भित्र पसेका ओठ तर फुर्तिलो, जोशिलो र रंगीलो स्वभाव । यही हो हामीले देखेको हुलिया । 
उहाँलाइ आफ्नो जन्मदिन कति गते हो भन्ने ठ्याक्कै याद नभए पनि १९९८ साल माघ महिना हो भन्ने चाहीँ उहाँलाई हेक्का छ । ८० वर्षीय प्रजातान्त्रिक योद्धा कुल बहादुर सारुलाइ अहिले पनि ती दिनहरु याद छन् । राजा महेन्द्रले “कु” गरेपछि युद्धमै होमिएको । “विर विश्वेश्वर जिन्दावाद”, “महेन्द्र सरकार मुर्दावाद” भन्दै नारा लगाएको याद अहिले पनि ताजै  छ । 
राजा महेन्द्रले २०१७ साल पौैष १ गते जननिर्वाचित सरकारका प्रमुख विपी कोइरालालाई जेल हालेर सत्ता हातमा लिएपछि देश भरी विद्रोहको आगो दन्कियो । जसबाट सल्यान पनि अछुतो रहन सकेन । सारुको सम्झनामा सायद त्यो माघ महिना हुनुपर्छ । महेन्द्र सरकार मर्दावाद, विर विपी जिन्दावाद भनेर नारा लगाउँदै सल्यान अड्डा कब्जा गर्न भनी हिंडेको । उहाँ त्यतिबेला १९ वर्षको जवान हुनुहुन्थ्यो । 
 

सल्यान अड्डा कब्जा गर्न हिंडेको टोलीबाट सुर्खेत कब्जा 
“सल्यान अड्डा कब्जा गर्न भनेर हामी हिंड्यौं, धेरै ठाउँबाट मान्छेहरु त्यस तर्फ मान्छेहरु हिंडिसकेका थिए” सारुले थप्नु भयो “हामी निगालचुला पुगे पछि, सुराकीहरुबाट खबर आयो की सल्यान अड्डामा शाही सेना र प्रहरी तयारीका साथ बसेको छ भनेर । हतियारको अभावमै पनि अड्डा कब्जा गर्न हिंडेका हामी त्यहाँबाट फर्कियौं ।” राजको कु प्रतिको आक्रोश र जोशका साथ त्यहाँ पुगेको सबै टोली सुराकीको सूचना अनुसार त्यहाँबाट फर्किएर सुर्खेत तिर लाग्यो । उहाँ सम्झिनुहुन्छ, भेरी नदीमा पुल थिएन, काठको डुंगा चढेर पारी जानुपथ्र्यो । डुंगा चढेर नै पारी पुग्यो टोली । 
त्यतिबेलाको सुर्खेत खड्डा गोठी काँडा । चारैतिर बाट गोठीकाँडा घेरिइसकेको थियो । दैलेखबाट पनि योद्धाहरु आएका थिए । उहाँहरुलाई कुनै लडाकु तालीम थिएन । पर्याप्त मात्रामा हतियार पनि थिएन । केही राइफल र भरुवा वन्दुकहरुको बलमा अडडा कव्जा गर्न गएको रे । सुन्दा पनि उहाँहरुको हिम्मत र समर्पण प्रति श्रद्धा छताछुल्ल हुने गरी फुटेर आउँछ । 
सारुले सुनाउनु भयो, विहानको मिर्मिरे उज्यालो बस्दा नै गोठीकाँडा अड्डा कब्जा भइसकेको थियो । कुनै क्षति विना । चारैतिर बाट टोली त्यहाँ पुग्दा आर्मी, प्रहरी कोही पनि थिएन । सबैले छोडिसकेका, सायद कब्दा गर्न आउँदैछन भन्ने सूचना पाएर होला । सिपाहीको नाममा एउटा प्रहरी मात्र थियो, कारागारमा । जति भने पनि, सम्झाए पनि, थर्काए पनि, उसले कारागारको ढोका छोड्नै मानेन । अन्तत ः ऊ मारियो । कारागार फोडेर सबै कैदीहरुलाई बाहिर निकालियो । 
यो भन्दै गर्दा मलाई याद आयो तत्कालीन माओवादीले युद्धको बेला बैंकहरु लुटेको, व्यक्तिगत सम्पत्ति लुटेको, कब्जा गरेको आदि । त्यस पछि सोधिहालेँ बैंक तिर जाुन भएन ? सारुको जवाफ आयो, बैंक तिर पनि टोली गयो, ठुलो आल्मारी थियो (सेफलाई उहाँले आल्मारी भन्नुभएको हुनसक्छ) तर हामीले त्यसलाई केही चलाएनौं । देशको सम्पत्ति हो, यसलाई केही गर्नु हुँदैन भन्ने निर्देशन (आदेश) पनि आयो । 
सारु भन्नुहुन्छ, सुराकीहरुले सूचना ल्याए । दैलेख तिर बाट शाही सेना आउँदैछ भनेर । त्यसपछि गोठीकाँडा अड्डा कब्जा गरेपनि केही घण्टामै छोड्नु पर्ने भयो । को कता गए भन्ने मेसो सारुलाई भएन सायद । विरेन्द्रनगरको बाटो भएर गएको टोली त्यही बाटो फर्कियो । छिन्चु आइपुगे पछि त्यो टोली पनि बाँडियो कोही दक्षिण तराइ तिर लागे कोही पहाड तिर । कोही त भारतीय सीमा बजार बलरामपुर तिर पनि गए । यसरी बलरामपुर जानेमा सारुका दाइ पनि हुनुहुन्थ्यो । कुल बहादुर सारु चाहीँ सल्यान तिरै फर्किनेमा पर्नुभयो ।  
उहाँलाई त्यतिबेलाको कमाण्डर को थियो भन्ने थाह छैन, भनौंं अहिले याद छैन । यो कुरा सुन्दा हामी उहाँ सम्म पुग्न धेरै ढिला भएको जस्तो लाग्यो, पछुतो लाग्यो । त्यतिवेलाको नेता नेव बहादुर मल्ललाई मात्र उहाँ सम्झिनुहुन्छ । नेव बहादुर मल्ल र ध्रुव मल्लको नाम पटक पटक उहाँले उच्चारण गरेको सुनिन्थ्यो । सारु भन्नुहुन्छ, “मल्ल भारतमा प्रवासित भए पनि उहाँलाई नै नेता मानेर हामी यसरी होमिएको हो ।” सल्यानका त्यतिबेलाका नेताहरु को को लाइ सम्झिनुहुन्छ भन्दा उहाँले टेक बहादुर एमपी (टेक बहादुर घर्ती) र गणेश कुमार एमपी (गणेश कुमार शर्मा) को नाम मात्र लिन सक्नुभयो । 
 

गुर्भाकोट काण्ड (भीडन्त) मा झन्डै सेनाले मारेको 
गोठीकाँडाबाट विरेन्द्रनगर, छिन्चु हुँदै फर्किएको टोली गुर्भाकोटमा थियो । निधार खुम्च्याउँदै दिमागमा जोर दिए पछि सारुले सम्झिनुभयो । ठुलो टोली अलि पर खानपिनको तयारीमा थियो, सारु लगायत चार जनाको टोलीलाई पहिले सेनाले देख्यो । सेनाले देख्न वित्तिकै फायरिङ सुरु गरिहाल्यो । उहाँहरु सँग हतियार केही पनि थिएन । सारु सँग भएका दुईजना साथीहरु हात उठाएर सेना तिर गइहाले । तर सारु र अर्का एक जना साथी चाही आत्मसमर्पण गर्नुको साटो आफ्नो टोली भएको तिर भाग्नु भयो । सारुसँग भएका अर्का साथी यहीँ खलंगाका विष्ट थिए । सारुलाई उनको पुरा नाम याद छैन तर उनी रिटायर्ड हवलदार विष्ट हुन भन्ने चाहीँ अहिले सम्म याद छ । उनले घस्रेर भाग्नुपर्छ भनेपछि ज्यान बच्यो । सारुले धन्य हुँदै भन्नुभयो “विष्ट नभएको भए मलाई पक्का पनि गोली लाग्थ्यो, मेरो ज्यान बचायो ।” 
बालकृष्ण दाहाल “विकेडी” ले लेखेको पुस्तक प्रजातन्त्र सेनानी  मा पनि यो घटना उल्लेख गरिएको छ । यो पुस्तकमा गुर्भाकोट काण्ड पछि सारु सँगै कारावास सजाय भोग्नेहरुको सूचीमा इन्द्र बहादुर विष्ट पनि उल्लेख रहेको छ । यसको आधारमा सारुलाई यसरी ऋण लगाउने मान्छे इन्द्र बहादुर विष्ट हुन सक्ने अनुमान रहेको छ । 
सारु त्यसरी फुत्किएपछि सेना सँग भिडन्त नै भयो । कांग्रेसको टोली पनि आफु सँग भएको हतियारले भ्याए सम्म लड्यो । कांग्रेसका दर्जनौँ योद्धाहरुले विरगति प्राप्त गरे । 
 

सेनाले परिवार माथि पनि अत्याचार ग¥यो ।
सारु कालिमाटी फर्किनु भयो । तर घर फर्किदा घर, घर जस्तो थिएन । गाउँ गाउँ जस्तो थिएन । घरमा मान्छे उस्तै थिएनन् । घर पुग्न वित्तिकै घरका महिलाहरु रुन कराउन थाले । प्रताडना व्यक्त गर्न थाले । घरका महिलाहरु माथि शाही सेनाले कुटपिट, ब्लात्कार सम्म गरेको थियो । त्यतिबेला सारुको विवाह भरखरै भएको थियो । उहाँ केही लजाउँदै भन्नुहुन्छ, श्रीमती सँग राम्रो सँग चिनजान नै भएको थिएन । राम्रो चिनजान नै नभएको श्रीमती सहित घरका सबै महिला हरु माथि ब्लात्कार जस्तो जघन्य अपराध भइसकेको थियो । नाबालक भाइ टोप बहादुर सारुलाई समेत कुटेको थियो । अनुहार भरी पीडा ल्याएर सारुले भन्नुभयो, “सेनाले मेरो परिवार माथि जघन्य अत्याचार गरेको छ बाबु ।” यति मात्र होइन उहाँको बुवा गणपति सारुले राजीगाउँ नजिकै सन्चालन गरेको व्यापार पनि तहस नहस गरेको थियो । पसलको सबै चीज लुटिएको थियो । बुवा गणपति सारुको ठुलो व्यापार थियो त्यतिबेला । सारु अनुमान गर्नुहुन्छ  खप्टा, दुईविटे पैसा सबै गरेर सेनाले करिब ४ पाथी जति पैसा लुटेको हो । बुवा गणपति सारुलाई पनि पक्राउ गरेर लिइसकेको थियो । यसरी मानवीय, आर्थिक, पारिवारीक सबै तिरबाट अपुरनीय क्षति भएको सम्झिँदा अनुहारमा आक्रोश देखिन्छ । यस्तो हुँदा आक्रोश पनि किन नहोस्, आखिरी आज सम्म कुनै नेता, कुनै व्यवस्थाले सम्वोधन पनि त गरेन । सारुले आक्रोशका साथ म तिर सोझिएर सोध्नुभयो “त्यति धेरै क्षति हुँदा पनि हामीलाइ केही सम्वोधन हुने होइन र बाबु ?” म नजवाफ थिएँ । जवाफ पनि के दिउँ ? पन्चायतमै राजाको शालिक ढाल्दा खुट्टा गुमाएका रुकुमका खड्क बहादुरलाई पनि कुनै सम्बोधन भएन भनौं की ? महेन्द्र माथि बम खसाल्नेहरुको परिवारलाई पनि केही सम्बोधन भएन भनौं की ? हरि बहादुर खत्रीलाइ पनि त के भयाे र भनाैं की या त माओवादी युद्धका घाइते, अपांग हरुको अवस्था त झन खराब छ भनौं ? के भनौं ? फेरि गिरीजाबाबुले एकचोटि विशेष सेवा सुविधा दिने घोषणा गरेको सम्झिंदै आफैलाई सम्हाल्नुभयो “केही हुन्छ की भन्ने आशा थियो त्यो पनि भएन ।”
 

आठ वर्ष जेल सजाय 
यी घटना पछि पनि उत्साह, जोश, जाँगरका साथ सारु राजनैतिक जीवनमा नै क्रियाशील भइरहनु भयो । सरकारका मान्छेहरु खाजेको खोज्यै । गाउँ घरमा पटक पटक दुख दिइरहे । त्यस पछि सारुलाई आफन्त हरुले पनि सल्लाह दिए, आफै गएर अड्डामा हाजिर भएपछि सजाय पनि कम हुन्छ भनेर । सल्लाह मान्दै सारु सल्यान अड्डामा उपस्थित हुनु भयो, बडाहाकिम समक्ष । देखिना साथ जेल हाल्ने आदेश भयो । सजाय कम हुन्छ भनेर आएको मान्छे, आठ वर्ष सम्म जेलमै विताउनु प¥यो । त्यतिबेला सल्यान कारागारमा करिब ५ सय जति बन्दीहरु भएको उहाँ अनुमान गर्नुहुन्छ । विस्तारै वन्दीहरु छुट्दै गए, तर सारुका बाउछोरा लगायत केही चाहीँ सबै भन्दा लामो समय सम्म रहनु भयो । उहाँको सम्झना अनुसार ०२५ साल तिर होला आम माफीको घोषणा भए पनि उहाँहरुलाई छोडेन । उहाँ सँग जेल बस्नेहरु सबैको याद अहिले छैन । तर गणपति सारु (बुवा), हरि प्रसाद खत्री, पिताम्बर शर्मा, दुर्गा बहादुर श्रेष्ठ, हरि बहादुर सारु लगायतको नाम उहाँलाई याद छ । त्यस पछि उहाँ भन्नु हुन्छ “हामी जेलबाट छुट्दा डिल्लीराज रेग्मी (ने.का. का पूर्व केन्द्रीय सदस्य) ले हाम्रो विवरण हरु टिपेको याद छ ।” तर के विवरण हो ? किन हो ? कहाँ पठाउनको लागि हो भन्ने कुराको उहाँलाई हेक्का छैन ।
जेलबाट छुटेर जाँदा श्रीमतीको अर्को विहे भइसकेको थियो । घर व्यवहार सबै विग्रीसकेको थियो । सबै कुराको नयाँ सुरुवात गर्नुपर्ने थियो तर उहाँले हिम्मत हार्नुभएन । तर दुखको कुरा राजनीतिमा उहाँको कतै प्रभावशाली उपस्थिति देखिएन । कुनै पदमा रहेको देखिएन । उहाँ जस्तो संघर्षशील र त्यागी पुरुषलाई कोटी कोटी नमन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top