होमपेज / स्थानीय

जिल्ला अदालतबाट दोषी ठहर गरिएका ११६ जना पक्राउ : ४१ जना पिसिआर परीक्षण विना कारागार चलान 

  बि.पि. हमाल २०७७ भाद्र १५ गते सोमबार २०:३३:५६ मा प्रकाशित

भदौ १५, सल्यान ।
सल्यान जिल्ला अदालतबाट विगतमा दोषी ठहर भई फरार रहेका रहेका ११६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २०१५ साल देखि देवानी तथा फौजदारी अभियोगमा दोषी ठहर भई फरार रहेका प्रतिवादीहरुलाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये वनगाड कुपिण्डे नगरपालिका निवासी एक जना फरार प्रतिवादीलाई सुर्खेतको मालारानीबाट पक्राउ गरी ल्याइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । डिएसपी खतिवडाका अनुसार साउन ८ गते यता मात्र ३९ दिनकाे अवधीमा उनीहरु पक्राउ परेका हुन । 
जिल्ला अदालतको आदेश र समन्वयमा जिल्ला प्रहरी कार्यालयले साउन ८ गते देखि दोषी करार गरिएका फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सन्चालन गरेको थियो । फरार प्रतिवादीहरुको घरघरमा पुगेर भेटिएका जतिलाई पक्राउ गरी सम्मानित अदालत समक्ष पेश गरिएको र नभेटिएकाहरुको बारेमा खोजखबर गरी फर्केको  खतिवडाले बताएका छन् । उनका अनुसार ३३ जनाको मृत्यु भईसकेको छ भने १९७ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सकिएको छ्रैन । जस मध्ये ५३ जना भारतमा, १४ जना तेश्रो मुलुकमा र ९ जना बेपत्ता रहेका छन् भने ५६ जना अन्य जिल्लामा बसाईसराई गरेर गएको बताईएको छ । यसका साथै ६५ जनाको नामथर तथा वतन फरक परेकोले पक्राउ गर्न नसकिएको खतिवडाले बताए । 
पक्राउ पर्नेहरुमा ८७ वर्ष उमेरका प्रतिवादीहरु समेत रहेका छन् ।  पक्राउ पर्नेहरु मध्ये जेल सजाय तोकिएका ४१ जना कारागार चलान गरिएका छन् भने जरिवाना तोकिएका बाँकी प्रतिवादीहरु जरिवाना भुक्तान गरेर रिहा भएका छन् । 
तर दोषीहरुलाई कारागार चलान गर्दा सम्वन्धित निकायले कैदीहरुको स्वास्थ्य लाई नजर अन्दाज गरेको देखिएको छ । जेल सजाय सहित दोषी करार गरिएका ४१ जनालाई पिसीआर परीक्षण नगरेरै कारागार चलान गरिएको छ । यस सँग सँगै कारागारमा रहेका कैदीहरु सहित त्यहाँ रहेका प्रहरीहरुलाई समेत कोरोनाको जोखिम बढेको हो । उनीहरुलाई आरडिटी परीक्षण मात्र गरिएको डिएसपी खतिवडाले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top