होमपेज / स्थानीय

आन्दोलरत कर्मचारीहरु द्धारा छत्रेश्वरीमा तालावन्दी : यथाशिघ्र बजेट पारित गर्न र म्याद थप गर्न दवाव

माग पुरा नभए थप कडा कार्यक्रम गर्ने

  छिटो खबर २०७७ आश्विन ११ गते आइतबार १६:४५:३८ मा प्रकाशित

असोज ११, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा लामो समय देखि आन्दोलनरत कर्मचारीहरुले ७ वटै वडा कार्यालयहरुमा तालावन्दी गरेका छन् । विगत लामो समय देखि करार कर्मचारीहरुको सम्वन्धमा गाउँपालिकामा चलिरहेको विवाद नटुंगिएपछि उनीहरुले आइतबार देखि अनिश्चतकालका लागि तालावन्दी गरेका हुन । 
छत्रेश्वरी गाउँपालिकामा विभिन्न सेवा समूहमा कार्यरत कर्मचारीहरुलाई कार्यरत राख्ने वा नराख्ने सम्वन्धमा अध्यक्ष, उपाध्यक्ष लगायतको काँग्रेस समर्थक पक्ष र नेकपा समर्थक पक्ष बीच करिब ४ महिना देखि विवाद चलिरहेको छ । लामो समय सम्म पनि आफ्नो मागहरु सुनुवाई नभएकोले आन्दोलनका थप कदम चाल्नुपरेको कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले बताएका छन् । 
आइतबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले शिक्षक तथा कर्मचारीहरु निरन्तर रुपमा अहिले सम्म पनि प्राप्त जिम्मेवारी अनुसार कार्यरत रहेको तर म्याद थप नभएको र हाल सम्म बजेट पारित नभएको हुँदा  कर्मचारीहरुको म्याद थप गरी निरन्तरता दिनुपर्ने र गाउँपालिकाको बजेट यथाशिघ्र पारित गरी काम कार्यवाही हरु सुचारु गर्नुपर्ने माग गरेका छन् । आफ्ना माग हरु पुरा नभएमा आफु हरुले आन्दोलनका थप चरणहरु सन्चालन गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । माग पुरा नभएमा उनीहरुले असोज १३ गते विरोध कार्यक्रम गर्ने र असोज १४ देखि अर्को निर्णय नभए सम्म धर्ना दिने, विरोध ¥यालीहरु गर्ने समेत घोषणा गरेका छन् । 
आफुहरु जिम्मेवार र उत्तरदायी रहेर कार्य गर्दै आएको र अहिले आफुहरुलाई हटाएर अन्याय गर्न खोजेको कर्मचारीहरुको गुनासो रहेको छ । उनीहरुले दुवै पक्ष सँग आफ्ना विचार र विषयहरु प्रस्तुत गर्न खोजेको भएतापनि नेकपा समर्थक समूहले आफ्नो कुराहरु सुन्नुको साटो अपमान र बेवास्ता गरेको संघर्ष समितिका उप संयोजक प्रभा डाँगीले बताएकी छिन् । 
सोही विवाद नमिल्दा छत्रेश्वरीमा चालु आर्थिक वर्षको बजेट समेत पारित हुन सकेको छैन । नेकपा समर्थक समूहले बाहिर कर्मचारीको विषय सामान्य रहेको बताउँदै आए पनि मूल विवादको कुरो कर्मचारीहरुको विषय नै रहेको जानकार हरु बताउँछन् । गाउँपालिकामा अति आवश्यक भएर कर्मचारी तथा शिक्षकहरु नियुक्ति गरिएको र केही स्थानहरुमा शिक्षकहरु अझै आवश्यक रहेको समयमा कर्मचारी हटाउनुपर्ने विषय उठाएर विवाद गरी गाउँपालिकालाई अनिर्णयको वन्दी बनाएको अध्यक्ष सन्तोष के.सीले पटक पटक भन्दै आएका छन् । करार कर्मचारीहरुलाई हटाएमा उनीहरु प्रति अन्याय हुने र कसैको रोजी रोटी खोसेर राजनीति नगर्ने अध्यक्ष के.सी.को अडान रही आएको छ । तर नेकपा समर्थक पक्ष भने कर्मचारी हटाउनु पर्ने भन्दै पटक पटकको बैठकहरु बहिष्कार गर्दै आएको छ । बैठकमा सहमति नभएपछि दुई पक्ष बीचको वार्ताबाट पनि निकास खोज्ने प्रयास गरिएको तर वार्ता पनि सफल नभएको श्रोतले बताएको छ । दुई पक्षको विवादको कारण गाउँपालिकाले चालु आर्थिक वर्षको कुनै पनि क्रियाकलाप सन्चालन गर्न सकेको छैन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top