होमपेज / स्थानीय

सल्यानमा पहिलो पटक किशोरीहरुको लागि आत्म सुरक्षा कार्यक्रम 

  छिटो खबर २०७७ पौष २१ गते मंगलबार १२:१६:१९ मा प्रकाशित

पुस २१, सल्यान । 
छत्रेश्वरी गाँपालिकाले किशोरीहरुको लागि आत्म सुरक्षा कार्यक्रम सम्पन्न गरेको छ । पुस १५ गते त्रिभुवन जनता मावि भोटेचौरमा उद्घाटन भएको कार्यक्रमको समापन सोमबार मावि शंखमूलमा गरिएको छ । यौन दुव्र्यवहार र ब्लात्कारबाट बालिका तथा महिलाहरु पिडीत भएको सन्दर्भमा यसबाट कसरी आफ्नो सुरक्षा गर्ने भन्ने सन्दर्भमा यो कार्यक्रम सन्चालन गरिएको बताईएको छ । गाउँपालिकाको २ लाख ७० हजार बराबरको आर्थिक सहयोग तथा युथ अफ तुलसीपुरको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्काले बताएका छन् । 
सल्यानमै पहिलोपटक सन्चालन गरिएको यो कार्यक्रम गाउँपालिकाका ९ वटा माविमा सम्पन्न गरिएको छ । कार्यक्रममा किशोरीहरुको आत्म सुरक्षा सम्वन्धी प्रारम्भिक टेकनिकहरु सिकाइएको थियो । सार्वजनिक यातायातमा यात्रा गर्दा वा अन्य स्थानहरुमा हिंडडुल गर्दा महिलाहरुमा माथि हुने यौन दुव्र्यवहारबाट आत्म रक्षा गर्ने सम्वन्धमा मार्सल आर्ट खेलाडीहरु सीता खड्का र लवमाया थापाले प्रारम्भिक टेकनिकहरु प्रदर्शन गरेका थिए । कार्यक्रमबाट महत्वपूर्ण सिकाइ भएको सहभागीहरुले बताएका छन् । 
युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष के.सी. ले छात्रा तथा महिलाहरुमा आत्मविश्वाश हुनुपर्ने र यौन दुव्र्यवहार विरुद्ध बोल्ने हिम्मत हुनु पर्ने धारणा राखेका थिए । छात्राहरु मार्फत गाउँघरमा समेत यस्तो सिकाइ तथा ज्ञानको प्रवाह होओस भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्दै अध्यक्ष के.सीले छात्राहरु विभिन्न खाले यौन दुव्र्यवहार विरुद्ध खुलेर आउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा मावि शंखमूलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले आइ क्यान डु भन्ने सोचलाई आत्मसात गर्दै आफ्नो सुरक्षा तर्फ ध्यान दिन सहभागी छात्राहरुलाई आग्रह गरेका थिए । गाउँपालिका उपाध्यक्ष सीता के.सी.ले पनि छात्राहरुको सुरक्षा र आत्मविश्वाशमा जोड दिएकी थिइन । 
युथ अफ तुलसीपुरका सहसचिव विमला थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम एडमिन अरुण लहरेले सन्चालन गरेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top