होमपेज / स्थानीय
सल्यान । सल्यानमा पनि डेंगुको संक्रमण देखिएको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका वडा न ६ काराकोटकी २२ वर्षिया एक महिलामा डेंगुको संक्रमण देखिएको हो । देशभर बढ्दो अवस्थामा रहेको डेंगु सोमबार सल्यानमा पनि देखा परेको छ ।
विगत दुई हप्तादेखि ज्वरोले थला परी भर्ना हुन आएकी बिरामीमा सोमबार ल्याव टेष्ट गर्दा डेंगु र स्क्रव टाइफस फेला परेको डाक्टरले बताएको उनका श्रीमान प्रेम विकले बताए । संक्रमित बिरामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भई रहेको उनका विकले बताए ।
उच्च जोखिममा सल्यान
सल्यान जिल्ला डेंगुको जोखिममा रहेको छ । छिमेकी जिल्लाहरु दाङ, सुर्खेत, वाँकेमा डेंगुका बिरामीहरु भेटिएसंगै यसको प्रकोप जिल्लामा पनि फैलिन सक्ने भएकाले सल्यान जिल्लामा पनि जोखिममा परेको हो । जिल्लाको श्रीनगर, कालीमाटी संगै शारदा नदि करिडोरको बस्ती र भेरी नदि किनारमा रहेको सल्लीबजार जोखिमयुक्त क्षेत्रको रुपमा रहेका छन् ।
यस बाहेक पूरै जिल्लामा नै डेंगुको जोखिम देखिएकोले उच्च सर्तकता अपनाउन थालिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
जिल्ला अस्पतालमा उपचारका लागी आएका बिरामीहरुमा देखिएको लक्षण र रगत जाँच गरेर डेंगुको परिक्षण गर्ने गरेको अस्पतालका प्रमुख डा. अर्जुन बुढा मगरले बताए ।
‘सल्यान पनि डेंगुको जोखिममा रहेको छ, जुनसुकै बेला पनि महामारीको रुपमा फैलन सक्ने भएकाले सर्तकता आवश्यक छ’ उनले भने —‘यसका लागी जिल्लामा नै परिक्षण गर्ने ब्यबस्था गरेका छौँ ।’
पानी जमेका खाल्डाखुल्डीहरुमा सरसफाई गर्ने, घर वरपर सरसफाई गर्ने, सञ्चार माध्यम मार्फत जनचेतना जगाउने र स्थानिय स्तर सम्ममा पुगेर सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने डा. बुढाले बताए ।
विशेषगरी एडिज एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेपछि एक्कासी ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी तथा टाउँकोको पछिल्लो भाग दुख्ने, शरिरमा विमिरा आउने, रक्तश्राव हुने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने जस्ता समस्या देखिने भएकाले तुरुन्तै स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण गर्न उनले आग्रह गरे ।
प्रमुख डा.बुढा मगरले ज्वरो आउने, टाउको दुख्ने लगाएतका बिभिन्न लक्षण देखिएमा चिकित्सकको सल्लाह विना औषधी सेवन नगर्न आग्रह गरे ।
उनलले विशेषगरी लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरे । राती भन्दा पनि दिउँसोको समयमा लामखुट्टेको टोकाईबाट बच्न सकेमा यो रोगबाट बच्न सकिने उनको भनाई छ ।