होमपेज / पत्रपत्रिकाबाट
१५ कात्तिक, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भएपछि रसुवागढी नाका हुँदै चिनियाँ समान भित्र्याउनु फलामको चिउरा चपाउनु जस्तो भएको छ । चिनियाँ पक्षले दैनिक जम्मा पाँच कन्टेनर सामान नाकासम्म ल्याउने गरी कोटा तोकेको छ ।
सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको स्रोतलाई उद्धृत गर्दै अनलाइन खबरले छापेको छ ।
अनलाइन खबरले लेखेको छ - ‘लामो समयसम्म सामान आउन नसकेका व्यवसायीले चलखेल भयो भनेर गुनासो गरेका छन्, नेपाली व्यवसायीको अस्वस्थ प्रतिस्पर्धा र चीनतर्फ एजेन्ट सेटिङ भएको भन्ने गुनासो कार्यालयमा आएका छन्,’ रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले भने ।
एजेन्टहरूले धेरै पैसा जसले दिन्छ, उसैको मात्रै सामान ढुवानी गर्ने गरेको गुनासो आएपछि यो विषयमा चिनीयाँ पक्षलाई पनि जानकारी गराइएको खड्काले बताए ।
नाका सुचारु गर्ने दुई देशको सहमतिअनुसार चीनतर्फका १२ वटा एजेन्टले पालैपालो तीन प्राथमिकताको आधारमा नेपालतर्फ सामान ल्याइदिने समझदारी भएको थियो ।
पहिलो प्राथमिकतामा औषधि र खाद्यान्न छन् । दोस्रोमा विकास निर्माण सामग्री तथा औजार र तेस्रोमा उपभोग्य वस्तु छन् ।
यही प्राथमिकता अनुसार क्रमशः ढुवानी गर्ने भनिए पनि ढुवानी र लोडिङ खर्चका विषयमा सरकार-सरकारबीच कुनै समझदारी नभएको भन्सार कार्यालयले जनाएको छ । अस्वस्थ प्रतिस्पर्धाका कारण प्राथमिकता अनुसारको आयात चक्र बिगि्रएको भन्सार प्रमुख खड्का बताउँछन् ।
पछिल्लो समय नेपाली व्यवसायीले चीनतर्फ थप १८ वटा एजेन्ट खडा गरेको भन्सार कार्यालयका अधिकारीहरू बताउँछन् ।