होमपेज / अन्तराष्ट्रिय

अमेरिकी चुनाव : जो बाइडेन व्हाइट हाउस छिर्ने तयारीमा, ट्रम्प अदालत तिर

  छिटो खबर डेस्क २०७७ कार्तिक २० गते बिहीबार १५:०५:३१ मा प्रकाशित

कार्तिक २० । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ‘जित नजिक’ पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।  द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् ।

उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए ।

अब मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडन एरिजोना र नोभाडामा अगाडि छन् । बाइडनले आफूले अहिले अग्रता लिएका दुई राज्यमा मात्र जित हात पारेको खण्डमा त्यो उनलाई ४६ औं राष्ट्रपति बनाउन पर्याप्त हुनेछ । यद्यपि यी दुवै राज्यमा बाइडन र ट्रम्पको ठूलो अन्तर भने छैन । यस्तोमा नतिजा जसको पक्षमा पनि जान सक्छ ।

ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल कलेज भोट पाएका छन् । तर, उनी पेन्सिल्भेनिया, जर्जिया र नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यमा अगाडि छन् । तर, पेन्सिल्भेनियामा गणना गर्न बाँकी रहेका मेलबाट गरिएको मत डेमोक्रेटिक पार्टीका उम्मेदवारको खातामा जानसक्ने अपेक्षा गरिएको छ । पेन्सिल्भेनियाका अधिकारीहरुले शुक्रबारसम्म अधिकांश मतगणनाको काम सकिने बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गरेका छन् । उनले तत्काल मतगणना रोकिनुपर्ने माग गर्दै कानुनी प्रक्रिया सुरु गरेका हुन् । उनले यी राज्यको मतदानमा ‘धोकाधडी’ भएको बताएका छन् । यद्यपि उनले यस विषयमा कुनै प्रमाण भने पेश गरेका छैनन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि व्यापक मात्रामा ‘धोकाधडी’ भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन् ।

यसै बिच अर्का उम्मेदवार जो बाइडनले भने जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय  ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेका छन्  ।

त्यसका लागि उनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो एक ट्रान्जिसन टिम (संक्रमणकालीन टिम) गठन गर्छन् ।

अहिलेसम्म अमेरिकामा राष्ट्रपतीय निर्वाचनको विजेताको घोषणा भएको छैन । तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले आफूले जितेको दाबी गरिरहेका छन् ।

बाइडनले अहिले सार्वजनिक गरेको वेबसाइटमा लेखिएको छ, ‘अहिले मुलुकले महामारीदेखि आर्थिक गिरावटसम्म, जलवायु परिवर्तनदेखि जातीय अन्यायसम्मका संकट सामना गरिरहेको छ र ट्रान्जिसन टिमले पूर्ण गतिका साथ आफ्नो तयारी गर्नेछ । जसको आधारमा बाइडन-ह्यारिस (बाइडनको उपराष्ट्रपति कमला ह्यारिस) प्रशासनले पहिलो दिनबाट नै काम सुरु गर्न सकोस् ।’

निर्वाचनमा जितेका इलेक्टोरल कलेज प्रतिनिधिहरुले आगामी डिसेम्बर १४ मा राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्नेछन् । उनीहरुको मत जनवरी ६ मा गणना हुनेछ । त्यसपछि संसद्मा नवनिर्वाचित राष्ट्रपतिको घोषणा हुनेछ । जनवरी २० देखि नयाँ राष्ट्रपतिले आफ्नो कार्यकाल सुरु गर्नेछन् ।

आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा अमेरिका सामेल हुने घोषणासमेत बाइडनले गरेका छन् । बुधबार आधिकारिकरुपमा अमेरिका यो सम्झौताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top