होमपेज / राजनीति
फागुन २८, सल्यान । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई केन्द्रीय कमिटी बैठक गरेका छन्।
बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य राजेन्द्र गौतमका अनुसार आज बालुवाटारमा एमालेको १० औं र ११ औं केन्द्रीय समिति बैठक बसेका हुन्।
'बैठकले अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएको छ,’ गौतमले भने। त्यसका लागि आजको बैठकले पार्टीको विधान पनि संशोधन गरेको उनले बताए।
आजकै बैठकले चैत ७ गते अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको गौतमले बताए। प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्षलाई जानकारी नै नदिई बैठक गरेका हुन्।
बैठकबाट नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारकै बैठकमा बालुवाटारमा महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।
यसै बिच नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भनेका छन् ।
ओलीले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
यसबारे प्रतिक्रिया दिँदै माधव नेपाल पक्षीय नेता भुसालले ओलीको निर्णय कुनै हालतमा मान्य नहुने बताएका छन् ।
यो कदमको राजनीतिक रुपमा भर्त्सना र निन्दा गर्नुका साथै कानूनी रुपमा च्यालेन्ज गर्ने भन्दै उनले भने, ‘सामान्यता ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा यस्तो हुन्थ्यो होला । हाम्रो मुलुकमा कुनै तानाशाहले पनि यो तहमा गरेको छैन ।'