होमपेज / राजनीति

पार्टी एकिकरणका लागि आव्हान तर सर्वोच्चमा दर्ता रिटबाट हस्ताक्षर फिर्ता लिनु पर्ने शर्त

  छिटो खबर २०७८ जेठ २४ गते सोमबार ०९:२४:३४ मा प्रकाशित

२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि आहृवान गर्दै ६बुँदे प्रस्ताव अघि सारेका छन् ।

२७ वैशाखमा पार्टी एकताका लागि ६बुँदे प्रस्ताव राखेका माधवकुमार नेपाललाई पार्टीबाट निस्कासन गरिसकेका ओलीले ‘नेकपा एमालेका लागि एकता आहृवान’ गर्दै ६बुँदा मै प्रस्ताव अघि सारेका छन् ।

प्रधानमन्त्री समेत रहेका ओली नेपाल समूहले अघि सारेको पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थामा फर्काउनुपर्ने लगायतका सबै माग सम्बोधन गर्न तयार देखिएका छन् । तर संसद विघटन खारेज गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा २३ जनाको हस्ताक्षर नेपाल समूहका निवर्तमान सांसदहरुले फिर्ता लिनुपर्ने शर्त अघि सारेका छन् ।

एकताका लागि अघि सारिएको ६ बुँदे प्रस्तावको चौथो बुँदामा भनिएको छ, ‘आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमाले निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।’

नेपाल समूहका नेताहरुका अनुसार अध्यक्ष ओलीले एकताका लागि आहृवान गर्दैछन् भन्ने पूर्व सूचना थियो । तर सर्वोच्चमा दायर रिटबाट हस्ताक्षर फिर्तालाई शर्तका रुपमा अगाडि सारेकाले अर्को दाउपेच हुनसक्ने नेपाल समूहको आशंका छ ।

एमालेमा एकताका लागि वार्तारत नेताहरुका अनुसार १७ जेठमा भएको छलफलमा ओली पक्षले सर्वोच्चमा दायर रिटमा हस्ताक्षर फिर्ता लिन आग्रह गरेको थियो ।

तर नेपाल पक्ष सहमत भएको थिएन । त्यो प्रस्तावमा सहमति भएको भए अरु विषय टुंगिन्थ्यो ।

अहिले पनि ओलीको यो शर्तमा सहमति जुट्न कठिन रहेको नेताहरु बताउँछन् । किनकी हस्ताक्षर फिर्ताले सर्वोच्चमा विचाराधीन मुद्दा कमजोर हुने मात्र होइन, संसद विघटन र मध्यावधि निर्वाचन घोषणालाई सदर गर्ने बाटो खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top