होमपेज / राजनीति

‘सरकार सामाजिक संस्थासँग सहकार्य गर्न तयार’ – सभामुख शाही

  छिटो खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सरकार सामाजिक संघ÷संस्थासँग विकास निर्माणका गतिविधिमा सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको सुन्दर नेपाल संस्थाको २३औं वार्षिक साधारण सभामा सभामुख शाहीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि सभामुख शाहीले आधुनिक राज्यमा प्रत्येक व्यक्तिका आवश्यक इच्छाहरुलाई राज्यले पूरा गर्न सकेमात्र राज्य सफल हुने बताउनुभयो ।    

कार्यक्रममा संस्थाका सचिब हीरामणि पौड्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सुन्दर नेपाल संस्थाले आव ०७५/७६ मा कर्णाली प्रदेश र काठमाडौ सहित ११ वटा जिल्लामा १५ वटा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 
संस्थाले आव २०७५/७६ मा कृषि, स्वास्थ्य, जिविकोपार्जन, सुशासन, खानेपानी तथा सरसफाई, नविकरणीय ऊर्जा, न्यायमा पहुँच लगायतका १५ वटा कार्यक्रहरु सञ्चालन गरेको छ । सचिब पौड्यालले सुन्दर नेपाल संस्थाले सञ्चालन गरेका कार्यक्रमहरुबाट आव २०७५/७६ मा २९ हजार ६ सय १६ घरधुरी लाभान्वित भएको जानकारी दिनुभयो ।

संस्थाका कोषाध्यक्ष मायाकुमारी सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै  ८ करोड ८३ लाख ४७ हजार ३ सय २६ रुपैयाँ आम्दानी र ८ करोड ८३ लाख ३५ हजार एक सय ५ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । साथै उहाँले आगामी आवका लागि ८ करोड ८५ लाख ४९ हजार ७० रुपैयाँकोे अुमानित आम्दानी प्रस्तुत गर्नुभयो ।

संस्थाले आव २०७५/७६ मा उत्कृष्ट काम गर्ने संस्थामा कार्यरत कर्मचारी द्वय गगन खड्का र तुलसा एलजीलाई सम्मानित गरेको छ । त्यसै गरी लाभान्वित समुदायबाट किमसरा खड्कालाई सम्मानित गरेको छ ।

नेदरल्याड विकास नियोग नेपालका सल्लाहकार लेखविक्रम शाहले संस्थामा क्षमता विकास कार्यविधि बनाउँदा राम्रो हुने बताउनु भयो । जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले गैर सरकारी संस्थाहरुलाई कसरी बुझ्ने भन्ने बारेमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताउनु भयो । 

सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले आफ्नो गाउँपालिका सधै गैर सरकारी संस्थासँग सहकार्य र समन्वय गर्न तयार रहेको बताउनु भयो । संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाको कार्यकारी निर्देशक भूपेन्द्र कंडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top